
काठमाडौं, असार ३ । पार्टीको आधिकारिकताको माग गर्दै जनता समाजवादी पार्टी पुनः निर्वाचन आयोग जाने भएको छ ।
पार्टीको बिहीबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टीको आधिकारिकताको माग गर्दै निर्वाचन आयोगमा जाने निर्णय गरेको जसपा कार्यकारी परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले बताउनुभयो ।
पार्टीमा आफ्नो पक्ष स्पष्ट बहुमतमा भएको र पार्टीको कार्यदिशा र योजनाको पक्षमा पनि आफुहरु नै रहेकाले पार्टीको आधिकारीकता माग गर्ने निर्णय गरिएको उहाँको भनाइ छ । डाक्टर भट्टराईले महन्थ ठाकुर पक्षले पार्टीको नाम र लोगो दुरुपयोग गरेको आरोप पनि लगाउनुभयो ।
यसैगरि बैठकले सरकारमा सहभागी ९ जना मन्त्रीलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ ।
कार्यकारिणी समिति बैठकले पार्टीको जनपरिचालनका लागि कार्ययोजना बनाउन मृगेन्द्रसिंह यादवको संयोजकत्वमा ७ सदस्यीय कार्यदल बनाएको छ ।
सरकारले तराई मधेशका सिमावर्ती क्षेत्रमा हुने डुबानको बारेमा भारतसँग कुरा गरेर समस्याको हल गर्न पहल गरोस् भन्ने निर्णय गरेको पनि अध्यक्ष भट्टराईले जानकारी दिनुभयो ।
जसपाले बाढी, पहिरोको समस्यामा तत्काल राहत, उद्दारको काममा खट्न पनि नेता कार्यकर्तालाई निर्देशित गरको छ ।
सरकारले गिट्टी, बालुवा निकासी गर्ने निर्णय गरेको भन्दै यो पर्यावरणीय र राष्ट्रिय हिसाबले गलत ठहर गर्दै त्यसको विरुद्धमा अभियान चलाउने निर्णय गरिएको पनि जसपाका अध्यक्ष डा. भट्टराईले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्