
एजेन्सी । नयाँ राष्ट्रपति चयनका लागि इरानमा मतदान भएको छ ।
इरानको राष्ट्रपतिमा यस पटक चार जनाले उम्मेदवारी दिएका छन् । इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीको समर्थनप्राप्त कट्टरपन्थी उम्मेदवार नै यस पटकको चुनावमा विजयी हुने अनुमान गरिएको छ ।
सर्वोच्च नेता खामेनीले न्यायपालिकाका प्रमुख इब्राहिम राइसीलाई समर्थन गरेकाले उनी नै विजयी हुने मत सर्वेक्षणहरुले देखाएका छन् ।
केन्द्रीय बैंकका पूर्व प्रमुख अब्दोलनासेर हेमाटीलाई औसत एवं नरम उम्मेदवार मानिएको छ । राइसी इरानको राष्ट्रपतिमा निर्वाचित भए उनी अमेरिकी सरकारले प्रतिबन्ध लगाएको पहिलो राष्ट्रपति हुनेछन् ।
राइसीमाथि सन् १९८८ मा बन्दीहरुको सामूहिक हत्याको आरोप छ । साथै राइसीले इरानी न्यायपालिकाको नेतृत्व सम्हालेको अवधिमा इरानमा सबैभन्दा बढीलाई मृत्युदण्ड दिइएको थियो । सर्वोच्च नेता खामेनीको अध्यक्षतामा रहेको उम्मेदवार छनौट समितिले सुधारवादी र पूर्व राष्ट्रपति हसन रौहानीसँग निकट रहेका कैयौं व्यक्तिलाई उम्मेदवार हुनबाट बन्चित गरेको थियो ।
सर्वोच्च नेता खामेनीले राजधानी तेहरानमा मतदान गरेका छन् । उनले आमनागरिकलाई मतदानमा सहभागी हुन पनि आग्रह गरेका छन् ।
राष्ट्रपतिका प्रभावशाली उम्मेदवार राइसीले दक्षिणी तेहरानको मस्जिदमा मतदान गरेका छन् । उनले पनि इरानका सबै योग्य नागरिकलाई मतदानमा भाग लिन आग्रह गरे ।
राइसीको उम्मेदवारीलाई लिएर इरानका कतिपय नागरिकले असन्तुष्टी जनाएका छन् ।
करिब आठ करोड जनसंख्या रहेको इरानमा यस पटक पाँच करोड ९० लाख मतदाता रहेका छन् ।
तर, सरकारसँग निकट इरानी विद्यार्थी संगठनले यस पटक करिब ४२ प्रतिशत मतदान हुने जनाएको छ । यो सन् १९७९ को इस्लामिक क्रान्तिपछिको सबैभन्दा न्यून मतदान हुनेछ ।
प्रतिक्रिया दिनुहोस्