२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


ठाकुर र यादव आ-आफ्ना यात्रामा, जसपा एक हुने सम्भावना लगभग समाप्त


52
Shares

खिलनाथ ताजपुरीया
काठमाडौं, असार ६ । जनता समाजवादी पार्टीका दुई समूह आ–आफ्नो बाटो लाग्ने अवस्थामा पुगेका छन् । अध्यक्ष महन्थ ठाकुर समूह सरकारमा सहभागी भएपछि एक अर्का विरुद्ध लाञ्छना लगाउँदै आएका दुई समूह अब एक ठाउँमा रहने संभावना लगभग सकिएको छ ।

सत्ता राजनीतिको पक्ष र विपक्षमा लागेर एक अर्का विरुद्ध कारबाहीको शिलशिला चलाउँदै आएका जसपाका दुवै समूह आधिकारिताको दाबी गर्दै निर्वाचन आयोगमा पुगेका छन् ।

आयोगले निर्णय नदिँदा जसपाको कुन समूह आधिकारिक हो भन्ने निक्र्यौल भने हुन सकेको छैन । दुवै पक्षले निर्वाचन आयोगमा बुझाएका कागजात नै किर्ते भएको आरोप पनि लगाईरहेका छन् ।

२०७७ पुस ७ गतेको बैठकबाट कार्यकारिणी समिति हेरफेर, प्रमाणिकरण र पार्टीको आधिकारिक पत्राचारको अधिकार आफूलाई दिएको माइन्युटसहित ठाकुरले आयोगमा दर्ता गराएको पत्रलाई यादव पक्षले जालसाँजीपूर्ण र कीर्ते भनेको छ ।

तर ठाकुर पक्ष भने यादव पक्षको आरोप स्वीकार्न तयार छैन ।

त्यसो त यादव पक्षले पनि कार्यकारणी समितिमा आफ्नो बहुमत रहेको कागजपत्र आयोगमा बुझाइसकेको छ ।

महन्थ ठाकुर पक्षलाई प्रतिगमनको मतियार बनेको आरोप लगाउने यादव पक्ष अब सहकार्य सम्भव जिकीर गरिरहेको छ ।

आफ्ना माग सम्बोधन गर्ने शर्तमा सरकारसँग निकट निकट भएको दाबी गर्ने ठाकुर पक्ष यादव समूहको आरोपप्रति टिप्पणी समेत गर्न चाहँदैन ।

मधेशलाई मूल राजनीतिक मुद्धा ठान्ने जसपाका दुवै समूहले अहिले एक अर्काप्रति गरेको टिप्पणी र गाली गलौज हेर्दा यिनीहरुबीच भविश्यसमा समेत सहकार्य हुन मुश्किल देखिन्छ ।