१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


जसपा विवाद : निर्वाचन आयोगले ठाकुर पक्षसँग जवाफ माग्यो


0
Shares

काठमाडौं, असार ७ । उपेन्द्र यादव पक्षले जसपाको आधिकारिकता दाबी गरेपछि निर्वाचन आयोगले महन्थ ठाकुर पक्षसँग जवाफ माग गरेको छ । आयोगले जसपाको ठाकुर पक्षलाई १५ दिनको समय उपलब्ध गराउँदै जवाफ माग गरेकाे हाे ।

राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ४४ (२) मा एक पक्षले आधिकारिता दाबी गर्दै निवेदन दिएमा अर्को पक्षलाई १५ दिनको समय दिएर जवाफ माग्नुपर्ने व्यवस्था छ । अर्को पक्षले माग गरेमा थप १० दिन सकिने व्यवस्था ऐनमा रहेको छ । असार ४ गते यादव पक्षले आयोगसमक्ष आधिकारिकताको दाबी गरेका थिए ।

यादवले कार्यकारिणी समितिका ५१ मध्ये ३० जना सदस्यको हस्ताक्षरसहित दलको आधिकारिता दाबी गरेका हुन् । यादव पक्षले आधिकारिकता दाबी गर्दै निवेदन दिएपछि आयोगले ठाकुर पक्षलाई पत्र पठाएर लिखित जवाफ पेश गर्न भनेको हो ।

जसपामा विवाद बढ्दै गएपछि दुवै पक्षले एकअर्कालाई कारबाही गर्दै आयोगलाई जानकारी गरारहेका छन् । गत जेठ १८ गते यादव पक्षले ठाकुर पक्षका ४ जना र ठाकुर पक्षले यादवलाई निश्कासन गर्दै दलको दर्ता किताबलाई अद्यावधिक गर्न अनुरोध गरेका थिए ।

तर, आयोगको जेठ ३१ को बैठकले दुवै पक्षको कारबाहीलाई अस्वीकार गर्दै साविक पदाधिकारीलाई कायमै रहने जनाएको छ । असार १ मै ठाकुर पक्षले विवाद विवरणसहित आयोगमा कागजपत्र दर्ता गरेपछि उपेन्द्र यादव पक्षले त्यसको खण्डन गर्दै आधिकारिकता दाबी गरेको हो ।