
काठमाडौं, असार ८ । काठमाडौं महानगरपालिकाले बाढीको विपत्तिमा परेका सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र पाँचपोखरी थाङ्पाल गाउँपालिकालाई आर्थिक सहयोग गरेको छ ।
काठमाडौं महानगरपालिकाले बाढीग्रस्त सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकालाई २ करोड रुपैयाँ र पाँचपोखरी थाङ्पाल गाउँपालिकालाई ५० लाख रुपैयाँ सहयोग गरेको हो ।
काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सोमबार सिन्धुपाल्चोक पुगेर सो सहयोग हस्तान्तरण गर्नुभएको हो । सहयोग हस्तान्तरण गर्दै प्रमुख शाक्यले विपतको बेलामा आफुहरुले थोरै भएपनि सहयोग गरेको बताउनुभयो ।
सहयोग रकम हस्तान्तरण कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङको समेत उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै स्वास्थ्यमन्त्री तामाङले विपतग्रस्त पालिकाहरुले विपत व्यवस्थापनका लागि छुट्टै कोष खडा गर्न अनुरोध गर्नुभयो ।
विगतमा विपतिहरुमा उठ्ने गरेको पैसा कानुनी जटिलताका कारण सम्बन्धित पीडितको हातमा नपरेको भन्दै उहाँले यस विपतीमा भने सबै पालिकाहरुले आ–आफ्नो कोष सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।
मेलम्ची नगरपालिकाका प्रमुख डम्बरबहादुर अर्यालले समयमै नगरबासीलाई सचेत हुन सुचना प्रवाह गरेका कारण मानविय क्षति कम भएको उल्लेख गर्नुभयो ।
विकास निर्माणको कामको संरचना क्षति हुँदा झनै समस्यामा परेको उहाँको भनाई छ ।
सिन्धुपाल्चोकमा असार १ गतेको बाढीले निकै क्षति पु¥याएको छ । विभिन्न ठाउँबाट राहत संकलन समेत भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्