१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


राष्ट्रसंघको महासभामा जुत्ता हिर्काउने ख्रुश्चेभलाई बीपी कोइरालाले यसरी दिए मुखभरीको जवाफ


0
Shares

काठमाडौं, असार ११ । संयुक्त राष्ट्रसंघको साधारणसभामा जुत्ता मिल्काउने तत्कालीन सोभियत संघका मन्त्रिपरिषद अध्यक्ष निकिता ख्रुश्चेभलाई सोही महासभामा भाग लिइरहनुभएका नेपालका प्रधानमन्त्री बीपी कोइरालाले मुखभरीको जवाफ दिनुभएको प्रसंगसहित सन्तोष खडेरीले बीपी र ख्रुश्चेभका एक तस्वीर साझा गर्नुभएको छ । घटना सन् १९६० सेप्टेम्बरको थियो । थप खडेरीको सामाजिक सञ्जाल फेसबुकबाट (भाषिक सम्पादनसहित)।

नेपालका प्रधानमन्त्री बीपी कोईराला र सोभियत युनियनका मन्त्रिपरिषद् अध्यक्ष निकिता ख्रुश्चेभको यो संयुक्त तस्वीर २८ सेप्टेम्बर १९६० को हो । निकै दुर्लभ यो तस्वीरको गुणस्तर भने त्यति राम्रो छैन । त्यस्तै तस्वीरमा ती दुबै नेताका पछाडि देखिने अर्को तेस्रो ब्यक्ति कुनै सोभियत अधिकारी होलान् ।

यो तस्वीर न्यूयोर्कको पार्क एभिन्युस्थित राष्ट्रसंघका लागि सोभियत प्रतिनिधिको कार्यालयमा लिइएको हो भन्ने अनुमान गर्न सकिन्छ । सन् १९६० मा सम्पन्न संयुक्त राष्ट्रसंघको १५ औं महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्क पुगेका प्रधानमन्त्री कोईराला सोही दिन ख्रुश्चेभसँग शिष्टाचार भेट गर्नका लागि त्यहाँ पुगेका थिए । प्रधानमन्त्रीको साथमा अमेरिका र संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि हृषिकेश शाह समेत थिए । सोही बर्ष सन् १९६० को जनवरीमा सोभियत युनियनका राष्ट्रपति मार्सल क्लिमेन्ट भोरोशिलोभले नेपाल भ्रमण गरेका थिए ।

कोईराला र शाहको संस्मरण अनुसार करिब ४५ मिनेटसम्म चलेको त्यस भेटघाटमा ख्रुश्चेभले अधिकांश समय कोईरालाका अगाडी हृषिकेश शाहका विरुद्ध आरोप लगाउनमा खर्चिएका थिए । संयुक्त राष्ट्रसंघमा सोभियत युनियनद्वारा प्रस्तुत एजेन्डालाई नेपालले समर्थन नगरेको र अमेरिकालगायतको पश्चिमा एजेन्डालाई भने नेपालले समर्थन गरेको भन्ने आरोप थियो शोभियत पक्षधरको । हंगेरीदेखि कंगोसम्मको मुद्दामा संयुक्त राष्ट्रसंघका तत्कालीन महासचिव ड्याग ह्यामर्शोल्डको भूमिकामाथि सोभियत पक्षले प्रश्न उठाउँथ्यो । त्यस्तै परमाणु निरस्त्रीकरण आयोगको भूमिकामा समेत प्रश्न उठाउँथ्यो ।

ती मुद्दामा सोभियत युनियनलाई बाँकी मुलुकले घेर्ने प्रयास गर्दा नेपालसमेत अरु मुलुकसँगै उसको विपक्षमा उत्रिएको थियो । त्यसैले ख्रुश्चेभले प्रधानमन्त्री कोईरालाका अगाडी हृषिकेश शाहलाई अमेरिकी सहितका पश्चिमा मुलुकसँग पैसामा बिकेर उनीहरुका पक्षमा बोलेको भन्ने आरोप लगाउन भ्याएका थिए । तर कोईरालाले आफ्ना राजदूतको बचाउ गर्दै ख्रुश्चेभलाई भने राजदूतले यहाँ रहेर जे जति काम गरेका छन् त्यो नेपाल सरकारको निर्देशन पालना गर्ने सिलसिलामा गरेका हुन् । कोईरालाले त्यसरी आफ्नो बचाउ गरेको सन्दर्भलाई शाहले बडो कृतज्ञताका साथ स्मरण गरेका गरेका छन् ।

त्यतिबेला सोभियत युनियनले संयुक्त राष्ट्रसंघमा तीन जना महासचिव राख्ने ‘ट्रोयका योजना’ अगाडी सारेको थियो । एउटा पश्चिमा विश्व, अर्को पूर्वी विश्व र बाँकी अर्को तेस्रो विश्वबाट तर नेपाल यो योजनामा कहिल्यै सकारात्मक थिएन । कोईरालासँगको त्यही भेटमा ख्रुश्चेभले आफ्नो ‘ट्रोयका योजना’ को विषय उठाउँदा कोईरालाले सकारात्मक ढंगबाट त्यसलाई लिएका थिएनन् । अर्को दिन २९ सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघको १५ औं महासभालाई सम्बोधन गरेका कोईरालाले त्यही मञ्चबाटै ‘ट्रोयका योजना’ खारेज गरिदिएका थिए । त्यस योजनामा हृषिकेश शाहसमेत सहमत थिएनन् ।

ख्रुश्चेभले त्यस बर्ष संयुक्त राष्ट्रसंघको अधिवेशनमा बितण्डा नै मच्चाए भन्दा हुन्छ । पछि त महाधिवेशन बैठकमा उनले त्यहाँ जुत्ता फ्याँक्नेदेखि ग्याभेल फाल्नेसम्मका हर्कत गरे । जसमा नेपालका प्रतिनिधिले ख्रुश्चेभको व्यवहार संसदीय मान्यता विपरीत भएको भनी आलोचना नै गर्न पर्यो । कोईरालाका अगाडी त्यस घटना भएपछिका दिनमा हृषिकेश शाह महासभा बैठकमा ख्रुश्चेभले प्रदर्शन गरेका व्यवहारप्रति खरो आलोचक नै भए । उक्त घटनाको ३ महिना भित्रमा नेपालमा राजनीतिक परिवर्तन भयो । राजा महेन्द्रले संसद विघटन गरी सत्ता आफ्नो हातमा लिएपछि गठन गरेको नयाँ मन्त्रिपरिषदमा हृषिकेश शाह अर्थ तथा योजना मामिला मन्त्रीका रुपमा नेपाल बोलाइए ।

सोभियत पक्ष राष्ट्रसंघका लागि नेपाली राजदूत हृषिकेश शाहसँग शुरुदेखि नै रुष्ट थिए । राणाकालीन नेपालले संयुक्त राष्ट्रसंघको सदस्यता लागि सन् १९४९ मा शुरु गरेको प्रयासलाई बारम्बारको सोभियत भिटोले परास्त गरेको थियो । सन् १९५५ डिसेम्बर १४ मा राष्ट्रसंघको सदस्यता हासिल गरेपछि नेपालले सन् १९५६ सेप्टेम्बरमा राष्ट्रसंघका लागि पहिलो स्थायी प्रतिनिधिमा हृषिकेश शाहलाई नियुक्त गरेको थियो ।

शाहको नियुक्ति हुनासाथ हंगेरीमा व्यवस्था परिवर्तनका लागि भएको आन्तरिक आन्दोलनमा सोभियत युनियनको अधिक बल प्रयोगको मुद्दा थियो । उक्त मुद्दा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदबाट सुल्झिन नसकेपछि (०४–१० नोभेम्बर) संयुक्त राष्ट्रसंघको आपतकालीन सत्र आह्वान गरिएको थियो । त्यसमा भारत तटस्थ बस्दा पनि नेपालले सोभियत युनियनको बिरुद्धमा मतदान गरेको थियो । त्यतिबेलैदेखि सोभियत युनियनले हृषिकेश शाहलाई मन पराउन छाडेको थियो । तस्वीर स्रोतः– इन्टरनेट संजाल

https://www.facebook.com/SantoshKhaderi2/posts/4126250394109097