१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


राष्ट्रपति र प्रधानमन्त्रीको नियतमाथि निरन्तर प्रश्न, दुबैको काम बदनियतपूर्ण भएको वरिष्ठ अधिवक्ता अर्यालको जिकीर


0
Shares

काठमाडौं, असार ११ । प्रधानमन्त्री केपी ओलीले गराएको प्रतिनिधि सभा विघटनका कारण राष्ट्रपति विद्या भण्डारीमाथि लगातार प्रश्न उठेको छ ।

संसद विघटनविरुद्ध प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवासहित १४६ जना सांसदले दिएको रिटमाथि सर्वोच्च अदालतमा जारी बहसमा वकीलहरुले राष्ट्रपति र प्रधानमन्त्रीको नियतमाथि प्रश्न उठाएका हुन् ।

शुक्रबार रिट निवेदकका तर्फबाट बहस गर्दै वरिष्ठ अधिवक्ता श्रीहरी अर्यालले राष्ट्रपति र प्रधानमन्त्रीको काम बदनियतपूर्ण भएको आरोप लगाउनुभयो ।

अर्यालले भन्नुभयो, ‘प्रधानमन्त्रीले संविधानको पालना गर्छु भनेर शपथ खानुभयो । त्यो भनेको उहाँले विश्वासको मत लिन्छु भनेर शपथ खानुभो तर, आफैंले खाएको शपथको पालना गर्नुभएन । राष्ट्रपतिले संसदमा जानका लागी बाटो फुकाई दिनुपर्नेमा टिकट टाँसेको चिठीलाई (जसपा र प्रधानमन्त्रीले पठाएको पत्रलाई संकेत गर्दै) आधार मानेर बदनियतपूर्ण निर्णय गर्नुभो ।’

राष्ट्रपतिलाई बहुमतको विश्वसनीयता परीक्षण गर्ने विशेष अधिकार संविधानले नदिएको भन्दै अर्यालले थप्नुभयो, ‘संवैधानिक परिषद् र नागरिकता विधेयक ल्याउँदा पनि बदनियत राखियो । यो बदनियतको हद हो । राष्ट्रपतिलाई बहुमतको विश्वसनीयता परीक्षण गर्ने विशेष अधिकार संविधानले दिएको छैन । त्यो अधिकार दिएको भए, संविधानमै लेखिन्थ्यो ।’

प्रधानमन्त्रीले कपटपूर्ण व्यवहार देखाए–पोखरेल

अर्का बहसकर्ता डा. दिनमणि पोख्रेलले विकल्प हुँदासम्म कोशिश गर्नुपर्छ भनेर ७६(५) को व्यवस्था राखिएको जिकीर गर्नुभयो ।

यो धारामा सांसद स्वतन्त्र हुने भन्दै उहाँले भन्नुभयो, ‘म विश्वासको मत लिन सक्दिँन भनेर हात उठाइसकेपछि उहाँ बस्न मिल्दैन ।’

यही बीचमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले प्रश्न गर्नुभयो, ‘म विश्वासको मत लिन्न भन्ने ठाउँ राष्ट्रपति हो कि संसद हो ?’

पोखरेलको जवाफ थियो, ‘शेरबहादुरले बहुमत सदस्य लिएर जानुभयो । अब विश्वासको मत लिन सक्छ कि सक्दैन भनेर राष्ट्रपतिले हेर्ने होइन । उहाँले हाउस पठाउनु पर्छ । मार्ग प्रशस्त भनेको अरुलाई छाडिदिएँ भनेको हो । फेरि कपटपूर्ण तरिका अपनाएर आफैं आउने र मार्ग अवरोध गर्ने होइन ।’

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई सम्मिलित संवैधानिक इजलाशमा दुई दिनदेखि पक्षका तर्फबाट जारी सुनुवाइ आज सकाइदैछ । दुबै पक्षले बिहीबार नै बहस नोट इजलाशमा पेश गरिसकेका छन् ।