
सुनसरी, असार १३ । सुनसरीमा माइक्रोबसले म्याजिक भ्यान र मोटरसाइकललाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ ।
कोशी गाउँपालिका– ८ नङ्खु टोलस्थित पूर्व–पश्चिम राजमार्गमा माइक्रो बसले म्याजिक भ्यान र मोटरसाइकललाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको हो ।
दुर्घटनामा दुई जना घाइते भएका छन् । पूर्वबाट पश्चिम जाँदै गरेको बा ३ ख ७२२४ नम्बरको माइक्रो बसले ओभर टेक गर्ने क्रममा विपरीत दिशाबाट आउँदै गरेको स १ छ ४६६१ नम्बरको मोटरसाइकल र को १ च ९३६८ नम्बरको म्याजिक भ्यानलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा घाइते भएका सप्तरी डाक्नेश्वरी नगरपालिका– ५ का २८ वर्षीय मोटरसाइकल चालक उदय साह, मोटरसाइकलमा पछाडि बसेका मोरङ विराटनगर महानगरपालिका– ९ का ४५ वर्षीय रामप्रसाद साह र म्याजिक भ्यानका चालक विराटनगर– ७ का ४० वर्षीय अक्षय कुमार गुप्ताको जिल्ला अस्पताल इनरुवामा उपचारको क्रममा मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका डिएसपी सुमनकुमार तिम्सिनाले जानकारी दिनुभयो ।
घाइते भएका माइक्रो बसका चालक नुवाकोट विदुर नगरपालिका– १३ का ३५ वर्षीय विकास तामाङ र सहचालक २५ वर्षीय नारायण बस्यालको विराट नर्सिङ होममा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्