
काठमाडौं, असार १३ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री लिलानाथ श्रेष्ठले कोरोना महामारीका कारण थला परेको पर्यटन व्यवसायलाई माथि उठाउन पहल गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।
सिंहदरबारमा आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पदभार सम्हाल्दै उहाँले आफु मन्त्रालयमा रहुन्जेल पर्यटन क्षेत्र तथा पर्यटन व्यवसायको विकास र सम्मृद्धिका लागि काम गर्ने बताउनुभएको हो ।
रहरले नभई बाध्यताले मन्त्रालयको जिम्मेवारी सम्हाल्नु परेको उल्लेख गर्दे उहाँले कोभिड महामारीको अत्यन्तै कठिन अवस्थामा पनि पर्यटन क्षेत्रको सम्मुनत विकासका लागि भिन्न किसिमको कार्ययोजना बनाई अघि बढ्नुपर्ने आवश्यकता औल्याउनुभयो ।
सरकारले नीति ल्याउने तर कार्यान्वयन तहमा लैजाने जिम्मेवारी कर्मचारीहरुको भएको भन्दै उहाँले समग्र मन्त्रालयका कामलाई प्रभावकारी बनाउने गरि कार्ययोजना बनाउन मातहतका कर्मचारीलाई निर्देशन दिनुभयो ।
मन्त्री श्रेष्ठले नेपाल वायु सेवा निगमले विभिन्न समयमा जहाज किन्दा देखिने गरेका समस्याको पनि अध्ययन गर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्