
काठमाडौं, असार १४ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति पदको गरिमालाई नै समाप्त पारेको आरोप लगाउनुभयो ।
राष्ट्रपतिले संविधानको व्यवस्था अनुसार प्रधानमन्त्रीमा नियुक्त नगरेर ओलीको कार्यकर्ता बनेको उहाँको भनाइ थियो । सभापति देउवाले प्रधानमन्त्री ओलीलाई ‘छुद्र भाषा बोल्ने मान्छेले के देश चलाउँछ ?’भनी प्रश्न गर्नुभयो ।
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री ओलीका अभिव्यक्तिहरु महत्वपूर्ण रहेको भन्दै ती भाषणलाई रेकर्ड गर्न व्यंग्यात्मक सुझाव दिनुभयो ।
नेता नेपालले सधै संस्कार र मर्यादाका कुरा गर्नेले नै अरुको मर्यादा राख्न नसकेको धारणा राख्नुभयो । ओलीले नेताहरुको नामै काढेर गरेको टिप्पणी सही भए जनताको अदालतमा उभिन तयार रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा जसपाका नेता अशोक राईले विपक्षीहरूको गठबन्धन रहर र लहडले नबनेको भन्दै आवश्यकताले बनेकाले यसलाई टिकाउने प्रतिबद्धता जनाउनुभयो ।
विपक्षी गठबन्धनका नेताहरुले पनि प्रधानमन्त्री केपी शर्मा ओलीप्रति तिखो टिप्पणी गरेका छन् । सोमबार बुद्धिजिवीहरुसँग काठमाडौंमा भएको अन्तर्रक्रियामा उनीहरुले प्रधानमन्त्री ओलीप्रति खरो टिप्पणी गरेका हुन ।
प्रतिक्रिया दिनुहोस्