२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


प्रकाशमान, शशांक र बिमलेन्द्रबीच चाक्सीबारीमा बैठक, आगामी महाधिवेशनको नेतृत्वबारे छलफल


0
Shares

काठमाडौं, असार १५ । नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच आज पनि बैठक भएको छ ।

प्रकाशमान सिंह निवास चाक्सीबारीमा तीन नेताबीच नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा कसको नेतृत्वमा मैदानमा जाने भन्नेबारे छलफल भएको छ ।

सिंह, कोइराला र निधि तीनै जना आगामी महाधिवेशनमार्फत् सभापति बन्न आकांक्षी हुनुहुन्छ । निधि वर्तमान सभापति शेरबहादुर देउवानिकट मानिनुहुनछ भने सिंह र कोइराला संस्थापन इतरमा हुनुहुन्छ ।

संस्थापनका तर्फबाट सभापति देउवाले आउने कार्यकाल पनि आफै नै सभापतिको उम्मेदवार बन्ने घोषणा गरेपछि निधि तीन नेताबीच एकता गर्दै नेतृत्वमा पुग्ने वैकल्पिक बाटो खोज्दै हुनुहुन्छ ।

त्यसैका लागि तीन नेताबीच छलफलको शुरुवात पनि उहाँले नै गर्नुभएको थियो । पहिलो चरणमा निधिको निवासमा छलफल गर्नुभएका उहाँहरु दोस्रो पटक कोइराला निवासमा बस्नुभएको थियो ।

कांग्रेसमा महाधिवेशन नजिकिँदै गर्दा आफूनुकूलका समीकरण बनाउने र पदीय भागबण्डा गर्ने प्रयास भइरहेका छन् ।

संस्थापन पक्षमा देउवाका अतिरिक्त निधिले पनि नेतृत्वका लागि इच्छा देखाउँदा इतर पक्षमा भने कोइराला र सिंहका अतिरिक्त वरिष्ठ नेता रामचन्द्र पौडेल र डा. शेखर कोइराला पनि सभापतिको दावेदार हुनुहुन्छ ।

१३ औं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्नुभएका कृष्ण सिटौला र नेताहरु अर्जुनरसिंह केसी र डा.रामशरण महतको भूमिका यस महाधिवेशनमा के हुन्छ भन्नेचाहिं खुलिसकेको छैन । तीनै जनाले विभिन्न मौकामा आफूलाई सभापतिको आकांक्षी बताउने गर्नुभएको छ ।