१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


एमाले केन्द्रीय कमिटी बैठकमा नेपाल पक्ष सहभागी नहुने


0
Shares

काठमाडौं, असार १७ । नेपाल कम्युनिष्ट पार्टी(एमाले)ले शुक्रबारका लागि बोलाएको केन्द्रीय कमिटी बैठकमा वरिष्ठ नेता माधव नेपाल समूह सहभागी नहुने भएको छ ।

बिहीबार बुद्धनगरस्थित एक पार्टी प्यालेसमा बसेको माधव नेपाल पक्षीय स्थायी कमिटीको बैठकले एमालेले शुक्रबारको लागि बोलाइएको केन्द्रीय कमिटीको बैठकमा सहभागीन हुने निर्णय गरेको हो ।

बैठकपछि संक्षिप्त प्रतिक्रिया दिदैँ नेकपा(एमाले)का नेता भिम रावलले पार्टी विधान विपरित गठित दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक र त्यसको निर्णयले पार्टी एकतामा हानी पुर्‍याउने भएकाले बैठकमा सहभागी नहुने निर्णय गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयाे, ‘पार्टी विधान विपरित गठित दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीका बैठक र त्यसका निर्णयले पार्टी एकता हासिल गर्न अवरोध पुयाउने भएकाले असार १८ गते बोलाइएको बैठकमा सहभागी हुन सकिदैनँ । वार्ता र सहमतीबाट समस्याको समाधान खोजिनुपर्छ ।’

नेता रावलले एमालेलाई एकताबद्ध बनाउनको लागि सहमतीको प्रक्रियामा औपचारिक वार्ता गरिनुपर्ने र केन्द्रीय कमिटीको बैठक आवश्यक सहमतीका आधारमा स्थायी कमिटीको निर्णयको आधारमा बोलाइनुपर्ने बताउनुभयो । उहाँले नेकपा(एमाले)लाई एकताबद्ध रुपमा अगाडी बढाउन उचित र औपचारिक सार्थक वार्ता तथा सहमतिको प्रक्रिया अवलम्वन गरिनुपर्नेमा जाेड दिनुभयाे ।

केन्द्रीय कमिटीको बैठक आवश्यक तहको सहमति तथा स्थायी कमिटीको बैठकबाट आवश्यक निर्णय प्रस्तावको आधारमा मात्र बोलाइनुपर्ने रावलकाे भनाइ छ ।

नेकपा(एमाले)ले बुधबार दशौँ महाधिवेशन आयोजक कमिटीलाई भंग गरी २०७५ साल जेठ २ गते अघिको अवस्थामा रहेको केन्द्रीय कमिटीलाई व्युँताएको थियो । सोही केन्द्रीय कमिटीको बैठक शुक्रबारको लागि बोलाइएको भएपनि माधव नेपाल समुह नजाने भएको हो ।