
काठमाडौं, असार १७ । नेकपा माओवादी केन्द्रका राष्ट्रिय सभा सदस्य दिनानाथ शर्माले नेपालका पार्टीहरुले लोकतान्त्रिक चरित्र देखाउन नसकेको बताउनुभएको छ ।
बिहीबार राष्ट्रिय सभाको आठौं अधिवेशनको पहिलो बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य शर्माले नेपालका राजनीतिक दलहरुको लोकतान्त्रिक चरित्र हुन नसक्दा राजनीतिक संकट पैदा भएको बताउनुभएको छ ।
उहाँले लोकतन्त्र भनेको माला जप्ने विषय नभई व्यवहारमा प्रस्तुत गर्नुपर्ने बताउनुभयो । लोकतन्त्रका फरक मतको पनि सम्मान गर्नुपर्ने भएपनि नेपालमा केवल आफ्नो गुटको मात्रै कुरा सुनेर अगाडी बढ्दा समस्या पैदा भएको उहाँले उल्लेख गर्नुभयो । उहाँले ‘साच्चै नेपालमा हाम्रो चरित्र लोकतान्त्रिक बनेको रहेनछ । लोकतन्त्रको निम्ति संघर्ष ग¥यौँ । लोकतन्त्रको लागि रगत, पसिना पनि बगायौँ । तर हामी दलहरुमा लोकतान्त्रिक चरित्र निर्माण भएको रहेनछ । लोकतन्त्र भनेको कुनै माला होइन, जप्ने माला होइन । व्यवहार हो । यो अभ्यास हो । लोकतन्त्र बलियो हुन पार्टी भित्रको लोकतन्त्र व्यवस्थित हुनुपर्छ । पार्टी भित्रको भिन्न मतलाई सम्मान गर्न सक्नुपर्छ । आदर गर्न सक्नुपर्छ ।’
शर्माले नेपालको राजनीतिक प्रणाली संविधान र संसदको सर्वोच्चतामा आधारित भएको भन्दै संविधानलाई विघटन गरेर र संविधानको धाराहरुको खिल्ली उडाएर लोकतन्त्र र संविधानलाई समाप्त पार्न खोजिएको बताउनुभयो । उहाँले प्रतिगमनको कालो बादल मडारिएको टिप्पणी गर्नुभयो । उहाँले ‘हाम्रो प्रणाली भनेको संसदको सर्वोच्चता हो । संविधानको सर्वोच्चता हो । संविधानलाई नमानेपछि, संसदलाई नमानेपछि, संसदलाई विघटन गर्दै हिडेपछि, संविधानको धाराहरुको खिल्ली उडाएपछि उत्पन्न राजनीतिक संकट हो । राष्ट्रिय संकट हो । यो संकट सबभन्दा गम्भिर संकट हो । यसले संविधान समाप्त हुने । लोकतन्त्र समाप्त हुने । प्रतिगमनको खतरा अगाडी कालो बादल, प्रतिगमनको कालो बादल अगाडी मडारिएको छ ।’
उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश मार्फत् देश चलाउन खोज्नु चाहीँ निर्दलीयता भएको, कालीगण्डकी परियोजना संघीय सरकारले प्रदेश र स्थानीय सरकारसँग समन्वय नगरी अगाडी बढाएको भन्दै त्यसको पुनर्विचार गर्नुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्