
सोलुखुम्बु, असार १८ । सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका– ५ जुबुमा अवस्थित सुकेपोखरीको व्यवस्थित पर्यटकीय क्षेत्र निर्माणको गुरुयोजना तयार पारिएको छ ।
जिल्लाको तल्लो क्षेत्रको पर्यटन विकासमा सम्भावना बोकेको ऐतिहासिक तथा मनोरम ठाउँ सुकेपोखरीको वृहत्तर विकासका लागि अघि बढेको गाउँपालिका अध्यक्ष असिम राईले बताउनुभयो ।
गाउँपालिकाले स्थानीय सरकार गठनको पहिलो वर्ष नै सुकेपोखरीको गुरुयोजना बनाएर व्यवस्थित गर्ने योजना बनाएअनुसार गुरुयोजना बनाएर अघि बढेको उहाँले जानकारी दिनुभयो ।
सुकेपोखरीलाई त्रि–धार्मिक स्थलको रुपमा समेत विकास गरिने बताइएको छ । जहाँ किराँत, बौद्ध र हिन्दु धर्मालम्बीका लागि मन्दिरहरु निर्माण गरिनेछ ।
गुरुयोजना कार्यान्वयनका लागि पाँच करोड रुपियाँ बजेट लाग्ने अनुमान गरिएको छ । यसका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट दुई करोड ८० लाख रुपियाँ विनियोजन भइसकेको छ ।
जसमा गाउँपालिकाको तर्फबाट ४० प्रतिशत सहयोग हिस्सा रहनेछ ।
प्रतिक्रिया दिनुहोस्