
डडेल्धुरा, असार १८ । निषेधाज्ञा खुकुलो भएसँगै डडेल्धुरामा अहिले चहलपहल बढेको छ ।
लामो समयदेखि संचालन नभएको व्यापार, व्यवसाय सबै संचालनमा आएपछि जिल्लाका विभिन्न स्थान तथा बाहिर जिल्लाबाट समेत सदरमुकाम आउने सर्वसाधरणले बजारमा आवतजावतको संख्या बढ्ेकाले बजारमा चलहपहल बढेको हो ।
जोखिम कम नभए पनि बजारमा अहिले लापरवाही बढेको छ । सामाजिक दुरीको समेत ख्याल नराख्दा भिडभाडसँगै कोरोना संक्रमणको जोखिम पनि उच्च रहेको छ । जिल्लामा पछिल्लो एक महिनामा ११३ जना संक्रमित थपिएका छन भने ६ जनाको मृत्यु समेत भएको छ ।
जिल्लामा पनि संक्रमित देखापर्ने क्रम जारी नै रहेकाले जोखिम कम भयो भन्ने अबस्था छैन । यस्तो अबस्थामा बजार क्षेत्रमा भिडभाड हुनाले जोखिम झन बढ्न सक्ने भएकाले यस लाई लापरवाहीका रुपमा नलिन र सबैले सुरक्षाका उपायहरु अपनाउनुपर्ने स्वास्थ्यकर्मीले सुझाएका छन् ।
निषेधाज्ञा खुकुलो भएसँगै कार्यालयबाट भुक्तानी लिने र बजारमा सामान खरिदका लागि आउनेको संख्या ह्वात्तै बढेकाले पछिल्ले एक सातामा १२ जना कोभिड बिरामी थपिएको स्वास्थ्य कार्यालय डडेल्धुराले जानकारी दिएको छ ।
नेपाल सरकार र जिल्ला प्रशासन कार्यालयबाट समेत कोरोनाबाट बच्नका लागि विभिन्न सावधानी अपनाउन आग्रह गर्दै आए पनि सर्वसाधारणले भने यस्ता उपायहरु लागू नगर्दा जोखिम निम्तिने संभावना बढ्दै गएको छ ।
प्रतिक्रिया दिनुहोस्