
काठमाडौं, असार १८ । मनसुन सुरु भएको १६ दिनमा बाढी पहिरोमा परेर २७ जनाको मृत्यु भएको छ ।
जेठ ३१ गतेदेखि असार १५ गतेसम्म बाढी पहिरो र भारी वर्षाका कारण १४४ घटनामा २७ जनाको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको हो ।
मनसुनका कारण हालसम्म ३६ जिल्ला बढी प्रभावित भएका छन् ।
यस अवधिमा ३६ जना बेपत्ता र २२ जना घाइते भएका छन् । ६ सय ७६ परिवार विस्थापित भएका छन् । बाढीका कारण १५ जनाको मृत्यु, ७ जना घाइते र २५ जना बेपत्ता भएको मनसुन २०७८ को प्रतिवेदनमा जनाइएको छ ।
पानीजन्य रोगबाट प्रभावित मानिसहरुलाई यसमा जोडिएको छैन । पहिरोका ६७ घटनामा ११ जनाको मृत्यु भएको छ भने १ जना बेपत्ता भएका छन् ।
यस्तै १४ जना घाइते र ३७ परिवार विस्थापित भएका छन् । त्यसैगरी ४४ वटा भारी वर्षाका घटनाबाट एक जनाको मृत्यु र एक जना घाइते भएका छन् भने ५५ परिवार विस्थापित भएका छन् ।
अघिल्लो वर्ष यस अवधिमा १८ जनाको मृत्यु भएको थियो भने यो वर्ष २७ जनाले ज्यान गुमाएका छन् । गत वर्ष यस अवधिमा बेपत्ता हुने मानिसको संख्या शून्य थियो भने यस वर्ष भने २६ जना बेपत्ता भइसकेका छन् ।
गत वर्ष १५ जना घाइते हुदाँ यस वर्ष २२ जना भइसकेका छन् । मनसुनजन्य घटना नै अघिल्लो वर्षको तुलनामा यो वर्ष दोब्बर छन् । अघिल्लो वर्ष यस अवधिमा ७२ वटा मनसुनजन्य घटना भएकोमा यस वर्ष उक्त अवधिमा एक सय ४४ वटा घटना भएका छन् ।
प्राकृतिक प्रकोपबाट ४ सय ६२ घरमा पूर्ण क्षति पुगेको छ भने १ सय १० घरमा आंशिक क्षति पुगेको छ । यस्तै २१ वटा सरकारी कार्यालय, १९ वटा झोलुंगे पुल, ७ वटा पक्की पुल, ५ वटा सामुदायिक विद्यालय र १२ वटा जलविद्युत आयोजनामा क्षति पुगेको छ ।
बाढी, पहिरो र भारी वर्षाका कारण मुलुकभरका ६ वटा सडकमा पनि क्षति पुगेको छ । जसमा सिन्धुपाल्चोकको हाइड्रोपावर जाने सडक भोटेकोशी गाउँपालिका–२स्थित लिपिङमा पूर्णरुपमा अवरोध भएको छ भने सिन्धुपाल्चोककै अरनिको राजमार्ग भोटेकोशी गाउँपालिका–२ कोदारीमा सडक भासिएर अवरोध भएको छ ।
मकवानपुरको भिमफेदी गाउँपालिका–६ गढीमा पहिरोका कारण बाटो पूर्णरुपमा अवरोध भएको छ । यस्तै लमजुङको बेँसीशहर–मनाङ सडकको मस्र्याङदी गाउँपालिका–४ च्याम्चे र रामबजार अवरुद्ध भएपछि खुलाउने कार्य जारीे छ ।
मनाङको मनाङ–बेँसीहर सडकको चामे गाउँपालिका–३ कोतो, चामे, होम्देबजार पहिरोका कारण अवरुद्ध छन् । बाजुराको मातर्ड–कोल्टी सडक खण्डको बुढिनन्दा नगरपालिका २ दाङसाँघु खोलामा नदीले सडक कटान गरेकाले पूर्णरुपमा अवरुद्ध छ ।
गत जेठ ३१ गते राति परेको अविरल वर्षाका कारण जोखिममा वरेका मनाङ चामेका ३ सय र तालगाउँ का २ सयलाई सुरक्षित स्थानमा स्तानान्तरण गरिएको छ । मनाङका विभिन्न स्थानमा जोखिममा रहेका १ सय १८ जनाको हेलिकोप्टरबाट उद्धार भएको थियो ।
सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची क्षेत्रमा असार १ गते रातिदेखिको बाढी र पहिरोबाट जोखिममा रहेका हेलम्बुका ५ सय र मेलम्चीका ६ सयलाई स्थानीय प्रशासन र स्थानीय तहको पहलमा सुरक्षित स्थानतर्फ स्थानान्तरण गरिएको छ । असार २ गते बिहानैदेखि नेपाली सेनाको हेलिकोप्टरमार्फत् १ सय २३ जनाको सकुशल उद्धार गरिएको थियो ।
निजी आवासको पुनर्निर्माणका लागि अहिलेसम्म २० जिल्लामा प्रथम किस्ता वापत् १९ करोड ९७ लाख ७३ हजार ७ सय ५० रुपैयाँ निकासा गरेर पठाइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्