
काठमाडौं, असार २० । गृहमन्त्रालयको समेत जिम्मेवारी लिनु भएका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत र पुर्नस्थापनामा कुनै कमि हुन नदिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
राष्ट्रियसभाको आइतबार बसेको बैठकमा प्राकृतिक विपद्मा परेका नागरिकको उद्धार तथा राहतबारे जानकारी दिँदै मन्त्री पौडेलले बाढीपहिरो तथा डुवान प्रभावित नागरिकलाई उद्धार, राहत तथा पुर्नस्थापनाको व्यवस्थामा कुनै कमि हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।
मनसुन सुरु भएलगत्तै देखिएको बाढीपहिरो र डुवानका समस्याप्रति सरकार गम्भिर रहेको भन्दै उहाँले सरकार रमिते भएर नभई प्रोएम्टिभ भएर स्रोत, साधन र शक्ति परिचालन गरिरहेको जिकिर गर्नुभयो ।
प्राकृतिक प्रकोप प्रभावितको उद्धार, राहत र पुर्नस्थापनाका लागि केन्द्र सरकारले प्रदेश र स्थानीय सरकारसंग पनि समन्वय गरिरहेको उहाँको भनाइ थियो ।
गृहमन्त्री पौडेलले बाढीपहिरो प्रभावितको उद्धार, राहत तथा पुनस्थापना जस्तो मानविय प्रश्नमा सरकारले कुनै राजनीति नगर्ने भन्दै स्वेच्छिक राहतमा सेलिब्रेटि स्टाइल प्रकट भएको टिप्पणी गर्नुभयो । गृहमन्त्री पौडेलले प्रभावितलाई तत्काल प्रतिपरिवार ५० हजार रुपैयाँ उपलब्ध गराइने जानकारी दिनुभएको छ ।
गत वर्ष प्राकृतिक प्रकोपका कारण ३ हजार ९ सय ४९ निजी घर क्षति भएको र यस वर्ष हालसम्म ५ सय ७२ निजी घर क्षति भएको जानकारी दिँदै मन्त्री पौडेलले प्राकृतिक प्रकोप राहत तथा पुर्नस्थापना कार्यविधि अनुसार प्रभावितलाई सरकारले राहतको व्यवस्था गर्ने बताउनुभयो । तराईको डुवान समस्यालाई दिर्घकालिन रुपले समाधान गर्न विभिन्न संयन्त्रमार्फत छलफल भईरहेको उहाँको भनाइ थियो ।
बैठकमा सदस्यहरुले बाढीपहिरो प्रभावितको उद्धार, राहत र पुर्नस्थापनामा ढिलाई भएको, सरकारले प्राकृतिक विपद् व्यवस्थापनको लागि पूर्व तयारी नगरेको, राहत तथा पुर्नस्थापनामा राजनीति गरेको आरोप लगाएका थिए ।
प्रतिक्रिया दिनुहोस्