२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


इलामको महेन्द्ररत्न क्याम्पसका विद्यार्थी लोकसेवा खुलाउन माग गर्दै उत्रिए आन्दोलनमा


0
Shares

प्रकाश नेपाल
इलाम, असार २० । इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसमा लोकसेवा आयोगको परिक्षा सुनिश्चित नहुँदा विद्यार्थीहरु समस्यामा परेका छन् । लोकसेवा परिक्षाको सुनिश्चितताको माग गर्दै उनीहरु हाल आन्दोलनमा उत्रिएका छन् ।

यो दृश्य हो इलामको सदरमुकाममा रहेको महेन्द्ररत्न बहुमुखी क्याम्पसको । कोरोनाको सन्त्रास कायमै रहेका बेला पनि विद्यार्थी जम्मा भएर जोडतोडले नाराबाजी गर्दै थिए । यो कुनै संघ/संगठनको माग लिएर आन्दोलनमा होमिएका भने होइनन् ।

लाखौं रुपैयाँ खर्चेर अध्ययन गरे पनि लोकसेवा आयोगको परिक्षामा भिड्न नपाउने र स्नातक गरेको विषयमा थप पढाइमा कठिनाइ भएको भन्दै महेन्द्ररत्न बहुमुखी क्याम्पसस्थित बीएस्सी बागवानीका विद्यार्थी आन्दोलनमा उत्रिएका छन् । बिएस्सी बागवानीका विद्यार्थीले मापदण्ड पुगेका कृषि सेवा समूह बागवानी, कृषि प्रसार, बाली संरक्षण, माटो विज्ञान र बाली विकासमा लोकसेवा आयोगको सुनिश्चितता हुनुपर्ने मागसहित आन्दोलित भएका हुन् ।

महेन्द्ररत्न बहुमुखी क्याम्पसमा २०६९ सालदेखि बागवानी विषय अध्यापन हुँदै आएको छ । यो समस्या पहिल देखिकै भएपनि हालसम्म माग सुनुवाइ नहुँदा र चार ब्याच अध्ययन भइसक्दा समेत कसैले पनि चासो नदेखाएकोमा उनीहरुको दुखेसो छ । कृषि तथा वन विज्ञान अध्ययन संस्थान त्रिभुवन विश्वविद्यालयअन्तर्गतको हो । विद्यार्थीहरुको मागप्रति क्याम्पसले चासो लिए पनि यहाँबाट समस्या समाधान हुन नसक्ने महेन्द्ररत्न बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डिएन फुएलको भनाइ छ ।

महेन्द्ररत्न बहुमुखी क्याम्पसमा हालसम्म २२८ जनाले बागवानीमा बिएस्सी गर्दैछन् भने १२० जनाले अध्ययन गरिसकेका छन् । लामो समयको मिहिनेत र लाखौ लगानी खर्चेर अध्ययन गरेपछि पनि लोक सेवा भिड्न नपाउनु दुखको कुरा हो त्यसैले विद्यार्थीहरुको भविष्यलाई राज्यले अन्धकारमा धकेल्न मिल्दैन ।