
काठमाडौं, असार २० । काठमाडौं उपत्यकाभित्र सवारीमा जोर बिजोर प्रणाली हटेको छ ।
उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले उपत्यकाभित्र चल्ने सार्वजनिक तथा निजी सवारी साधनमा जोर–बिजोर प्रणाली हटाउँदै निषेधाज्ञालाई जारी राख्ने निर्णय गरेको हो ।
आगामी मंगलबारदेखि असार ३१ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ । सार्वजनिक यातायातमा साना सवारीलाई पनि खुला गरिएको छ । यस अघि २५ सिट क्षमताभन्दा माथिका सवारीलाई मात्रै जोर बिजोर प्रणालीमा चलाउन दिइएको थियो ।
अब सफा टेम्पो र निलो माइक्रो पनि सिट क्षमता भन्दा बढी यात्रु राख्न नपाउने गरी सञ्चालन गर्न पाइने भएको हो । मास्कलगायत स्वास्थ्यका मापदण्ड अनिवार्य रूपमा पालना गर्नुपर्ने जनाइएको छ ।
यसका साथै पूर्वनिर्धारित परीक्षाहरू पनि सञ्चालन गर्न पाइने भएको छ । परीक्षा हलमा २५ जना मात्रै विद्यार्थी राखेर परीक्षा सञ्चालन गर्नुपर्ने जनाइएको छ ।
जिल्ला प्रशासन कार्यालयको अनुमति लिएर काठमाडौं उपत्यकाभित्र प्रवेश गर्न पनि दिइने भएको छ । सभा सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर, क्लब लगायत मानिसको भीडभाड हुने सबै स्थल तथा कार्यक्रमहरु भने निषेधाज्ञाभर बन्दनै हुने भएका छन् ।



प्रतिक्रिया दिनुहोस्