
जनकपुर, असार २२ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रतिनिधि सभा पुनःस्थापना हुने दावी गर्नुभएको छ ।
प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा सुनुवाई सकिएको भोलिपल्ट दाहालले प्रतिनिधि सभा पुनःस्थापना गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन अदालतले परमादेश नै दिने विश्वास व्यक्त गर्नुभएको हो ।
मंगलबार माओवादी केन्द्रीय सदस्य महादेव यादवलाई श्रद्धाञ्जली दिन धनुषा पुग्नुभएका दाहालले सर्वोच्च अदालतले संविधान विपरितको कदम खारेज गर्नेमा विश्वस्त रहेको बताउनुभयो ।
आफूहरु संविधान र राजनीतिक परिवर्तनको रक्षाका लागि लडिरहेको भन्दै दाहालले अहिलेको संघर्ष त्यसैका लागि भएको पनि बताउनुभयो ।
सोमबार सुनवाई सकाएको सर्वोच्च अदालतले असार २८ मा प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिटको अर्को पेशी तोकेको छ ।
शेरबहादुर देउवासहितका १४६ सांसदले प्रधानमन्त्री केपी ओलीले गराएको संसद विघटन असंवैधानिक भन्दै देउवालाई प्रधानमन्त्री बनाउनका लागि परमादेश माग गरी सर्वोच्चमा रिट निवेदन दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्