
काठमाडौं, असार २५ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले मनसुनजन्य विपतबाट क्षति बेहोरेका किसानलाई आगामी आर्थिक वर्षमा क्षतिपुर्ति दिनेगरी लगत संकलन गरिरहेको बताएको छ ।
मन्त्रालयका सचिव योगेन्द्र कुमार कार्कीले यस वर्षको मनसुनमा आएको बाढी तथा पहिरोका कारण कृषकलाई परेको क्षतिको सम्बन्धमा मन्त्रालयले लगत संकलन गरिरहेको बताउनुभयो ।
मन्त्रालयले कृषि विभाग, पशु सेवा विभाग लगायत प्रदेश सरकारमार्फत् के–कति क्षति भएको छ त्यसको तथ्यांक संकलन गरिरहेको उहाँले जानकारी दिनुभयो ।
एकहप्ता भित्र लगत संकलन भइसक्ने र असार २० गते सम्मको प्रारम्भिक रिपोर्ट तयार पारेपछि किसानहरुलाई आगामी आर्थिक वर्षमा क्षतिपुर्ति मार्फत् सम्बोधन गरिने उहाँले बताउनुभयो ।
सचिव कार्कीले यस वर्ष औसत रुपमा धान रोप्न ढिलाइ भइरहेको बताउनुभयो । हालसम्म ५६ प्रतिशत धान रोपाई भएको उहाँले जानकारी दिनुभयो ।
यस वर्ष १५ लाख हेक्टरमा ६० लाख मेट्रिक टन धान फलाउने लक्ष्य लिईएको उहाँले बताउनुभयो । निरन्तर भेलबाढी आइरहेमा सरकारको लक्ष्य प्राप्तिमा समस्या पैदा हुने उहाँको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्