
काठमाडौं, असार २५ । प्रतिलिपि अधिकार सम्बन्धी कानून स्पष्ट नहुँदा धरै अन्यौल हुने गरेको भन्दै कानूनी भाषामा स्पष्ट गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।
शुक्रबार राष्ट्रियसभा अन्र्तगतको विधायन व्यवस्थापन समितिको बैठकमा ‘प्रतिलिपि अधिकार(पहिलो संशोधन) विधेयक, २०७६’ को सम्बन्धमा गरिएको छलफलमा प्रतिलिपि अधिकारको सम्बन्धमा विद्यमान कानूनी भाषामा स्पष्टताका लागि जोड दिइएको हो ।
नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य हेमनाथ पौडेलले लोक साहित्यलाई कपि गर्न नपाइने व्यवस्था गर्नुपर्ने बताउनुभयो । पछिल्लो समय स्ववौद्धिक चोरीको विकृति बढेका कारण ऐनमा स्ववौद्धिक चोरीलाई नियन्त्रण गर्ने व्यवस्था हुनपर्ने बताउनुभयो ।
संगीतकार संघ नेपालका पूर्व अध्यक्ष तथा संरक्षक लक्ष्मण शेषले संगीतको क्षेत्रमा १५ सेकेण्डसम्म हुबहु नोटेशन मिलेकोलाई कपि मानिने स्पष्ट रुपमा लेखिनुपर्ने बताउनुभयो । १५ सेकेण्डसम्म नोटेशन मिल्ने संयोग लाखौँमा पनि हुन नसक्ने अनुसन्धानले पुष्टि गरेको उहाँले बताउनुभयो ।
राउटे समुदायसँग नजिक रहेर अनुसन्धानमा सक्रिय सत्यदेवीले सरकारले राउटेको भाषा संरक्षण गर्न नीति बनाउनुपर्ने बताउनुभयो । राउटेको भाषाको लिपी बनाएर नै सुरक्षित राख्नुपर्ने उहाँले बताउनुभयो । गितकार संघ नेपालका महासचिव रमेश कोइरालाले व्युत्पति, अनुवाद अथवा अनुकरणका नाममा मौलिकतालाई मास्नु गलत भएको बताउनुभयो । लेखक आरसी न्यौपानेले समाजको मनोविज्ञान, राजनीति, इतिहास, दर्शन लगायतको समग्र पाटोलाई विद्यमान प्रतिलिपी ऐनले नसमेटेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्