१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


दोगडाकेदारका सात घरपरिवार जोखिममा


0
Shares

बैतडी, असार २७ । बैतडीको दोगडाकेदार गाउँपालिकाका विभिन्न क्षेत्रमा बाढी र पहिरोका कारण स्थानीय जोखिममा परेका छन् ।

दोगडाकेदार गाउँपालिका– १ रिमको खोली भन्ने स्थानमा पहिरो जाँदा एक परिवार विस्थापित भएको छ । आइतबार बिहान घर माथिबाट पहिरो खस्दा स्थानीय मदन जोशीको परिवार बिस्थापित भएको हो ।

पहिराले घर पूर्ण रुपमा क्षति भएको र घरभित्रका खाद्यान्न लगायतका सामाग्रीहरु पहिरोमा पुरिएको छ । स्थानीयको सहयोगमा गाईवस्तु अन्यन्त्र सारिएको छ । पहिरोबाट कुनै मानवीय क्षति भने भएको छैन् । यस्तै अन्य ७ घर परिवार पनि पहिरोको उच्च जोखिममा परेका छन् भने अन्न बाली तथा तरकारी नष्ट भएको छ ।

यस्तै दोगडाकेदार गाउँपालिका– २ घमालीमा बाढीले स्थानीयहरुको खेत बगाएको छ । गए रातीदेखि परेको वर्षाले ढिकगाड नदी र भकुण्डे खोलामा आएको बाढीले खेत बगाएको स्थानीय जनकबहादुर कार्कीले बताउनुभयो । यस्तै बाढीले चारवटा पानीघट्ट पनि बगाएको छ ।

२०१८ सालपछि यो वर्ष विनाशकारी बाढी आएको स्थानीयले बताएका छन् । उता दोगडाकेदार गाउँपालिका– ८ कालागाउँ वासिलामा पहिरोले चार घर जोखिममा परेका छन् भने बाढीले स्थानीय खेत बगाएको स्थानीयले बताएका छन् ।

बाढी र पहिरोले गरेको क्षतिबारे विवरण संकलन गर्न प्रहरी टोली खटिएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो । यसका साथै दोगडाकेदार गाउँपालिका– ७ छानीमा बिहान चट्याङ लागेर एउटा भैंसी, एउटा बाख्रा मरेको छ भने विद्युतको मिटरमा क्षति पुगेको छ ।