
काठमाडौं, असार २८ । बाँके प्रहरीले संरक्षित रेडपाण्डाको छाला र भालुको पित्तसहित ३ जनालाई नियन्त्रणमा लिएको छ ।
बाँके प्रहरीले पत्रकार सम्मेलन गरेर कारोवारमा संलग्न मानिसहरुलाई सार्वजनिक गरेको हो । लुम्बिनी प्रहरी प्रदेश कार्यालय दाङ्ग र जिल्ला प्रहरी कार्यालय बाँकेको संयुक्त टोलीले उनीहरुलाई नियन्त्रणमा लिन सफल भएको थियो ।
प्रहरीले नेपालगञ्ज उपमहानगरपालिका–१ पुष्पलाल चोक नजिक रहेको राप्ती गेष्टहाउसको कोठाबाट दाङ्ग घोराही उपमहानगरपालिका वडा नं. ४ का ४९ वर्षिय भक्तबहादुर पुन, ४१ वर्षिय केशव पुन र शान्तिनगर गाउपालिका–१ का २१ वर्षिय रोबिन बुढालाई शनिबार राती पौने ९ बजेको समयमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरिक्षक श्याम कृष्ण अधिकारीले जानकारी गराउनुभयो ।
प्रहरीले उनीहरुको साथबाट संरक्षित रेड पण्डाको छाला १ थान, भालुको पित्त जस्तो देखिने बस्तु ४ थान बरामद गर्न सफल भएको जनाएको छ ।
प्रहरीले बरामद सामान सहित तीनै जनालाई आवश्यक कारवाहीको लागि डिभिजन बन कार्यालय बाँकेमा पठाउने जनाएको छ ।
दोषि प्रमाणित भए उनीहरुलाई ५ लाखदेखि १० लाखसम्म जरिवाना र ५ देखि १५ वर्षसम्म कैद वा दुबै सजाय हुनसक्ने प्रावधान रहेको छ ।
बाँके प्रहरीले असार महिनामा मात्रै चरीबाघको छाला, चितुवा प्रजातिको छाला, रेड पाण्डाको छाला र भालुको पित्त जस्ता संरक्षित र दुर्लभ बन्यजन्तुको चोरी सिकारीको अभियोगमा विभिन्न मितिमा ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्