१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


निगम कर्मचारीको आन्दोलनमा विभिन्न संस्था तथा निकायहरुको ऐक्यबद्धता


0
Shares

काठमाडौं, असार २८ । नेपाल वायुसेवा निगमलाई निजी गर्न लागिएको भन्दै आन्दोलनरत कर्मचारीका ट्रेड युनियनहरुलाई अन्य विभिन्न संस्था तथा निकायका कर्मचारी संघ संगठनहरुले ऐक्यवद्धता जनाएका छन् ।

निगम निजीकरणका लागि कम्पनीको प्रवन्धपत्र र नियमावली समेत बनाइसकेको र निगमलाई बेच्न लागिएको भन्दै कर्मचारीहरु निरन्तर आन्दोलित छन् । निजीकरण गर्ने निर्णय फिर्ता लिनुपर्ने र निगमको सञ्चालक समिति सदस्यहरु र महाप्रवन्धकको राजिनामा माग गर्दै वायु सेवा निगममा क्रियाशिल ट्रेड युनियनहरु आन्दोलित छन् ।

आन्दोलनरत ट्रेड युनियनहरुलाई अन्य विभिन्न संघ, संस्था तथा निकायका कर्मचारी संघ, संगठनले एक्यवद्धता जनाउँदै माग पुरा नहुञ्जेलसम्म आन्दोलन नरोक्न आग्रह गरेका छन् । नेपाल सार्वजनिक सेवा कर्मचारी संघका अध्यक्ष जनार्दन शर्माले निगम राष्ट्रिय गौरवको संस्था भएको उल्लेख गर्दै राज्यले यसलाई नाफा, घाटासँग हेर्नु नहुने बताउनुभयो । निगमका कर्मचारीहरुको आन्दोलनमा आफुहरुको ऐक्यवद्धता रहेको उहाँले बताउनुभयो ।

त्यस्तै आन्दोलनमा ऐक्यवद्धता जनाउँदै नेपाल आयल निगम कर्मचारी संघका अध्यक्ष मधुमाश पन्तले भ्रष्ट महाप्रवन्धक नियुक्त गर्ने पार्टी संयन्त्रका विरुद्ध धावा बोल्नुपर्ने आवश्यकता रहेको औँल्याउनुभयो ।

निगमलाई निजीकरणमा लाने निर्णय फिर्ता नहुञ्जेलसम्म आन्दोलन नरोकिने निगमका आन्दोलनरत कर्मचारीहरुले बताएका छन् ।