२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


अदालतमाथि ओलीको आक्रोश, अपब्याख्यामार्फत् संविधान संशोधन गरेको आरोप, देउवाको नेतृत्वप्रति संशय


0
Shares

kp Oli

काठमाडौं, असार २९ । प्रधानमन्त्री केपी ओलीले सर्वोच्च अदालतले गरेको फैसलाप्रति तीव्र असन्तुष्टि जनाउँदै संविधानको अपब्याख्या गरेको आरोप लगाउनुभएको छ ।

अदालतको आदेशबाट पदमुक्त हुनुभएका ओलीले मंगलबार देशवासीको नाममा संबोधन गर्दै आफ्ना बारेमा ‘कन्स्टिच्यूसन मोरालिटी’ को प्रश्न उठाइएको भन्दै अदालतको आलोचना गर्नुभयो ।

आफूलाई जनताले हटाएको होइन, अदालतको परमादेशबाट हटाइनु परेकामा दुःखेसो गर्दै ओलीले सर्वोच्च अदालतले संविधान संशोधन गरेर पछाडी फर्काइएको आरोप लगाउनुभयो ।

विश्व इतिहासमै पहिलो पटक अदालतले प्रधानमन्त्री हटाउने र नियुक्त गर्ने गरेको भन्दै आफ्नो सरकारविरुद्ध विभिन्न कुनाबाट षड्यन्त्र गरिएको गुनासो गर्नुभयो ।

फैसलाले व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको सन्तुलन भत्काएको भन्दै उहाँले भन्नुभयो, ‘यसले क्षणिक रुपमा कसैलाई हर्षित तुल्याउला । कसैभित्र विजेताको भाव पनि ल्याउला । तर लोकतन्त्रको मूल्यमा प्राप्त विजय क्षणभंगूर र अर्थहीन हुन जानेछ ।’

२०५२ मा पनि अदालतले राजनीतिलाई लिकबाट बाहिर लगेको कारण अनेकन दूष्परिणाम आएको भन्दै अहिले गरिएको संविधानको धारा ७६(५) मा दलीय ह्वीप नलाग्ने फैसलाले पनि त्यस्ते परिणाम ल्याउने दावी गर्नुभयो ।

ओलीले भन्नुभयो, ‘फैसलाले मेरो बारेमा धेरै प्रश्न उठाएको छ । आफू लोकतन्त्र जिविकोपार्जनको विषय हुनुहुँदैन भनेर लागेको, आस्थाका आधारमा राजनीति गरेको हुँ । आफूले आर्थिक लोकतन्त्रको पषमा अभियान चालेको हो ।’

सञ्चारमाध्यमबारे आलोचना गर्दै ओलीले भन्नुभयो, ‘संकटकाल लगाउने, सेना परिचालन गर्ने जस्ता अफवाह चलाइयो । राजनीति जनप्रतिनिधि संस्थाभन्दा बाहेकबाट अगाडी जानु अनुचित हो भनेर लागेको मानिसले कुने हथकण्डा गर्नु छैन ।’

१४ वर्षको उमेरदेखि लोकतन्त्रका लागि लडेको भन्दै उहाँले थप्नुभयो, ‘संवैधानिक नैतिकताको मापदण्ड ममाथि उठाउने ? कुन कन्स्टिच्यूसन मोरालिटी कुरा गरेको ? मेरो मन मस्तिष्कले देश र जनताको सुरक्षामा केन्द्रित छ । देश र जनताको स्वाभीमान, सार्वभौमसत्ता, स्वाधीनता, भौगोलिक अखण्डताबाहेक केही सोचेको छैन । विकास, सुशासन, सभ्य समाजको स्थापना र सामाजिक सुरक्षासहितको समृद्धीबाहेक कुनै सपना छैन ।’

आफ्नो सरकार ऐतिहासिक रुपमा सफल भएको दावी गर्दै अब बन्ने सरकार र नेतृत्वबारे प्रश्न गर्नुभयो, ‘अब बन्ने सरकार सही ढंगले अगाडी बढ्ला ? बिगतमा उनीहरुले गरेको काम र इतिहास, भूमिका सबैलाई थाहा छ, जनतालाई, देशलाई थाहा छ ।’