१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


काठमाडौंमा भेरोसेल खोप लगाएकै केन्द्रमा साउन ४ गतेबाट जोन्सन एण्ड जोन्सनको खोप लगाउन पाइने


0
Shares

ktm cdo office

काठमाडौं, असार २९ । काठमाडौं जिल्लामा एउटै खोप केन्द्रमार्फत् चिनियाँ भेरोसेल र अमेरिकी जोन्सन एण्ड जोन्सन खोप लगाउने व्यवस्था मिलाइएको छ । तर खोप लगाउने लक्षित समूह भने फरक हुनेछन् ।

मंगलबार असार २९ गतेबाट पाँच दिन भेरोसेल खोप लगाएको केन्द्रबाटै साउन ४ गतेदेखि अरु तीन दिन जोन्सन एन्ड जोन्सन खोप लगाउने व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको हो ।

जोन्सन एन्ड जोन्सन अमेरिकाले कोभ्याक्स कार्यक्रममार्फत उपलब्ध गराएको खोप हो भने भेरोसेल चीनबाट सरकारले किनेको खोप हो ।

खोप लगाउनका लागि काठमाडौं जिल्लाका विभिन्न नगरपालिकाभित्र ४४ वटा खोप केन्द्र निर्धारण गरेको छ । भेरोसेल असार २९ देखि साउनको २ सम्म र जोन्सनको खोप साउन ४–६ गतेसम्म लगाइने छ ।

सोमबार मात्र जोन्सन एन्ड जोन्सनको १५ लाख ३४ हजार ८५० डोज खोप अमेरिकाबाट नेपाल आइपुगेको थियो । एक डोज मात्र लगाए पुग्ने यो खोप मुख्यगरी ५०–५४ वर्ष उमेर समूहका व्यक्तिलाई लगाइनेछ ।

त्यसअलवा, पूर्ण र अति अशक्त अपाङ्गता (वर्ग क र ख) भएका नागरिक, नेपालमा बसोबास गरिरहेका शरणार्थी र यसअघि खोप लगाउन छुटेका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाइकर्मीलाई दिइनेछ ।

काठमाडौं महानगरपालिकाले भने जिल्ला प्रशासन कार्यालयले तोकेबाहेक अरु २५ वटासम्म खोप केन्द्र राखेर लगाउन सक्ने जनाइएको छ ।