
काठमाडौं, असार २९ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको छ ।
संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्रीमा दावी गर्न जानुभएका देउवालाई नियुक्त नगरेपछि उहाँसहित प्रतिनिधि सभाका १ सय ४६ सांसदले राष्ट्रपतिको उक्त कदमविरुद्ध नै सर्वोच्च अदालतमा मुद्दा हालेका थिए ।
सर्वोच्च अदालतले सोमबार उक्त मुद्दा फैसला गर्दै देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश नै जारी गरेको थियो । त्यसैले होला, सायद राष्ट्रपति भण्डारीले देउवालाई प्रधानमन्त्री नियुक्त गर्दा संविधान र संविधानको धारासमेत उल्लेख गर्नुभएको छैन ।
पत्रमा सर्वोच्च अदालतको फैसला बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरिएको मात्र भनिएको छ । कुन संविधानको कुन धाराअन्तर्गत देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरिएको हो, सो ब्यहोरा उल्लेख गरिएको छैन ।
राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव घिमिरेले जारी गरेको पत्रमा भनिएको छ, ‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट श्री सर्वोच्च अदालत, संवैधानिक इजलासको मिति २०७८/३/२८ को फैसला बमोजिम प्रतिनिधिसभाका सदस्य एवम् नेपाली कांग्रेस संसदीय दलका नेता माननीय श्री शेरबहादुर देउवाज्यूलाई प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको छ ।’
हेर्नुस् राष्ट्रपति कार्यालयको पत्रः
प्रतिक्रिया दिनुहोस्