
अर्घाखाँची, असार ३० । अर्घाखाँचीमा हत्या गरि फरार रहेका अभियुक्त १४ वर्षपछि पक्राउ परेका छन् ।
जिल्लाको पाणिनी गाउँपालिका वडा नम्बर ५ का २१ वर्षका नारायण सूर्यवंसीलाई हत्या गरि फरार रहेका तिन जना मध्ये एक जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
पक्राउ पर्नेमा पाणिनी गाउँपालिका वडा नम्वर ५ का ४२ वर्षिय हुमबहादुर रास्कोटी मगर रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक अम्मरबहादुर थापाले जानकारी दिनुभयो । कपिलवस्तुमा लुकेर बसेको अवस्थामा जिल्ला प्रहरी कार्यालय अर्घाखाँची बाट खटेको प्रहरी टोलीले पक्राउ गरेको बताईएको छ ।
२०६४ कार्तिक २६ गते सूर्यवंसीलाई निजकै घरमा रास्कोटीसहित तीन जनाले कुटपिट गरी हत्या गरेका थिए । घटना सम्लग्न सोही स्थानका गनबहादुर खाम्चाकी मगर र चोकबहादुर खाम्चाकी मगर फरार रहेको प्रहरी निरीक्षक सूचना अधिकारी गणेश खनालले जानकारी दिनुभयो ।
प्रहरीको अनुसन्धानमा पक्राउ परेका मगरले घरायसी रिसिविका कारण योजनामा कुटपिट गरेको प्रहरीसँग स्वीकार गरेको प्रहरी प्रमुख थापाले बताउनुभयो । पक्राउ परी हिरासतमा रहेका मगरलाई अदालतबाट पाँच दिनको म्याद थप भई अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्