१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


पोखरामा प्रहरीद्वारा शिक्षकमाथि लाठी चार्ज, १९ जना गिरफ्तार


0
Shares

पोखरा, साउन १ । शुक्रबार पोखरामा शिक्षकहरुमाथि प्रहरीले लाठी चार्ज गरेको छ ।

नेपाल शिक्षक महासङ्घ, केन्द्रीय समितिको आह्वानमा ७ ओटै प्रदेशका मुख्यमन्त्रीको कार्यालयमा धर्ना दिने कार्यक्रम अनुसार गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको कार्यालय अगाडि धर्ना दिन गएका शिक्षकहरूमाथि प्रहरीले लाठी चार्ज गर्दा एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन, कास्कीका अध्यक्ष तारानाथ पौडेललगायत केही शिक्षक सामान्य घाइते भएका थिए ।

मुख्यमन्त्रीको कार्यालय परिसरको निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले धर्नामा बसेका १९ जना शिक्षकहरूलाई गिरफ्तार गरी वडा प्रहरी कार्यालय, बैदाममा करिब १ घन्टा राखी रिहा गरेको छ ।

गिरफ्तार पर्नेहरूमा नेपाल शिक्षक महासङ्घका केन्द्रीय उपमहासचिव विजयराज पौडेल, महासङ्घका कास्की सहअध्यक्ष महेन्द्रमणि पौडेल, सचिव मनिराम कडेल, नेपाल शिक्षक सङ्घका गण्डकी प्रदेश अध्यक्ष शिरोमणि लामिछाने, एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन, कास्कीका अध्यक्ष तारानाथ पौडेल, नेपाल शिक्षक सङ्घका कास्की अध्यक्ष रमेश भट्टराई, शिवभक्त देवकोटा, विकल पौडेल, भोलानाथ पौडेल, रामचन्द्र पोखरेल, वसन्तराज पाण्डे, शिवलाल तिमिल्सिना, श्रीधर गिरी, दिवाकर पौडेल, निर्मल आचार्य, सुलोचना पण्डित, पुरुषोत्तम सापकोटा, दुर्गाराज बराल र वीरबहादुर गुरुङ रहेका छन् ।

शिक्षकहरूको रिहाइपछि आयोजित कोणसभामा महासङ्घका केन्द्रीय उपमहासचिव विजयराज पौडेलले देशभरका प्रदेश मुख्यमन्त्रीको कार्यालयअगाडि शिक्षकहरूको माग सुनाउने उद्देश्यले आयोजित कार्यक्रमअनुसार आयोजित धर्नामा अनावश्यक धरपकड गरेको भन्दै विरोध जनाए । शिक्षकहरूलाई दोस्रो दर्जाको नागरिकका रूपमा राज्यले हेरेको आरोप लगाउँदै उनले गुरुहरूको सम्मान गर्न सम्बन्धित निकायले ध्यान दिनुपर्नेमा जोड दिए । माग पूरा गर्नका लागि आन्दोलनको विकल्प नभएको भन्दै पौडेलले अब प्रधानमन्त्रीको कार्यालयमा समेत धर्ना दिन शिक्षकहरू पछि नपर्ने बताए ।

एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनका गण्डकी प्रदेश अध्यक्ष सोमनाथ ढुङ्गानाले शिक्षकहरूको माग पूरा गर्नका लागि जस्तोसुकै आन्दोलन गर्न आफूहरू तयार रहेको बताए । नेपाल शिक्षक सङ्घ, गण्डकी प्रदेशका अध्यक्ष शिरोमणि लामिछानेले शिक्षकको माग पूरा गराउन सबै शिक्षकहरू एकताबद्ध हुनुपर्ने धारणा राखे ।

नेपाल शिक्षक महासङ्घले शिक्षा ऐना जारी गर्नुपर्ने, शिक्षक महासङ्घ र सरकारबिच भएको सहमति कार्यान्वयन गर्नुपर्ने, शिक्षकलाई पनि राष्ट्रसेवकको दर्जाा राखिनुपर्नेलगायतका विभिन्न मागहरू राख्दै चरणबद्ध आन्दोलन गरिरहेको छ ।