
काठमाडौं, साउन १ । नेपाल कम्युनिष्ट पार्टी एमालेले प्रतिनिधिसभा पुनस्थापना गर्ने सर्वोच्च अदालतको फैसलाको देशैभर भण्डाफोर अभियान सञ्चालन गर्नेभएको छ ।
नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकले सर्वोच्चले निर्दलीयता लाद्न खोजेको ठहर गर्दै उक्त फैसलाको भण्डाफोर गर्ने निर्णय गरेको हो । बैठकपछि एमाले प्रमुख सचेतक विशाल भट्टराइले एउटा दलबाट निर्वाचित सांसदहरुले अर्को पार्टीको संसदीय दलको नेतालाई प्रधानमन्त्री बनाउने कामलाई नैतिक ठह¥याउने अदालतको फैसला विरुद्ध भण्डाफो अभियान चलाउनु पर्छ भन्ने निष्कर्ष पार्टीको रहेको बताउनुभयो ।
त्यसअघि संसदीय दलको बैठकलाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई अपराधीको संज्ञा दिनुभयो । आफ्नो पार्टीको सरकार ढाल्न अरुसँग साँठगाँठ गर्ने माधव नेपाल मुख्य अपराधी हुन् भन्दै ओलीले नेपालको पछि लाग्नेहरु ब्यक्तिगत रुपमा पार्टीमा आउँछन भने आऊन भन्नुभयो । देउवा नेतृत्वको सरकारले एमालेलाई अप्ठेरोमा पार्ने कदम चाल्न सक्ने भन्दै उहाँले सदन छिटो टुंग्याएर एमाले फुटाउन अध्यादेश ल्याइन सक्ने बताउनुभयो ।
त्यस क्रममा ओलीले सर्वोच्च अदालतले किर्ते कागजलाई मान्यता दिएर अल्पमतलाई सरकार बनाउन परमादेश दिएको पनि बताउनुभयो । न्याय परिषदको सिफारिसमा बन्नुपर्ने संवैधानिक इजलास निवेदक र बार एसोसिएसनको दबाबमा पुनर्गठन गरेबाटै षडयन्त्र सुरू भएको भन्दै उहाँले फैसलामा सहमति नभए पनि लोकतन्त्रवादी भएको नाताले त्यसलाई स्वीकार्ने बताउनुभयो । मन्त्रिमण्डल पूरा बनाउन नसकेकोप्रति ब्यंग्य गर्दै ओलीले माइतीघर फिल्मको गीत ‘म प्यार बेचिदिन्छु , म बहार बेचिदिन्छु’को शैलीमा एमालेहरुलाई पनि मन्त्री पद अफर गरिरहेको दाबी गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्