११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


एमालेले गोहीको आँसु चुहायो : दाहाल


0
Shares

काठमाडौं, साउन ३ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेकपा एमालेले बहुदलीय लोकतान्त्रिक प्रणालीमाथि प्रहार गरेको भनेर गोहीको आँशु चुहाएको टिप्पणी गर्नुभएको छ ।

प्रतिनिधिसभामा प्रधानमन्त्री शेरबहादुर देउवाले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै उहाँले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम शेरबहादुर देउवा प्रधानमन्त्री भएकोमा एमालेलाई टाउको दुख्नुपर्ने कारण नरहेको बताउनुभयो । एमालेका नेताहरूले संविधानको धारा ७६ को उपधारा ५ ले निर्दलीयता निम्त्याउने, लोकतन्त्र सङ्कटमा पर्ने भनेर दिँदै आएको अभिव्यक्तिलाई दाहालले गोहीको आँसु भन्नुभयो ।

संविधानको अन्तिम व्याख्याता सर्वोच्च अदालत भनेर आफूहरुले नै संविधानमा लेखेको भन्दै उहाँले अदालतले संविधानको मर्म र भावना अनुरूप काम गर्दा लोकतन्त्र मिचियो भनेर कराउनुको अर्थ हुदैन भन्नुभयो । निवर्तमान प्रधानमन्त्री ओली सत्ता हस्तान्तरण प्रक्रियामा सहभागी नहुनु पनि आश्चर्यजनक रहेको भन्दै दाहालले को भित्र लोकतान्त्रिक चरित्र छ भन्ने प्रष्ट भएको जिकीर पनि गर्नुभयो ।

झन्डै दुई तिहाइ बहुमत भएको सरकारले दुई–दुई पटकसम्म प्रतिनिधिसभा विघटन गरेको नेपालको इतिहासमै पहिलो पटक भएको दाहालको भनाइ थियो ।