१ चैत्र २०८१, शुक्रबार | Sat Mar 15 2025


ओलीले राति २ बजे संसद विघटन गर्दा राष्ट्रपति सुत्न पनि पाउनुभएन–प्रधानमन्त्री देउवा


0
Shares

sherbahadur deuba

काठमाडौं, साउन ३ । प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्ववर्ती प्रधानमन्त्री केपी ओली सरकारले मध्य रातमा संसद विघटन गरेर राष्ट्रपतिलाई सुत्नसमेत नदिएको टिप्पणी गर्नुभएको छ ।

प्रतिनिधि सभामा आफूले मागेको विश्वासको मतसम्बन्धि कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले विपक्षी पार्टीमा आक्रमण गर्न हुँदैन भन्ने मान्यता आफू्नो रहेको पनि बताउनुभयो ।

प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता अनुपस्थित हुनु गम्भीर भन्दै उहाँले ‘प्रधानमन्त्रीले बोल्दा विपक्षी दलको नेता हुनुपर्छ भन्ने हाम्रो सिद्धान्त हो । सरकारले विपक्षीमाथि आक्रमण गर्न हुँदैन भन्ने मान्यता राख्छु,’ भन्नुभयो ।

आफ्नो बहुमत पुग्दैन भनेको केहीबेरमै राष्ट्रपतिसमक्ष ओलीले प्रधानमन्त्रीको दाबी गएको भन्दै भन्नुभयो, ‘ओलीजी आफैले मेरो बहुमत पुग्दैन म जान्न भन्नुभएको थियो । पछि आफैँ जानुभयो । अचानक २ बजे राति एकाएक संसद् विघटन भयो ? किन गर्नुपरेको होला । राष्ट्रपति विचरा सुत्न पाउनुभएन होला बाध्यतामा पारिदिनुभयो प्रधानमन्त्रीले । भोलिपल्ट विघटन गरेको भए भइहाल्थ्यो नि !’

देउवाले तीन वर्षभन्दा बढी समय सरकार सञ्चालन गरेका ओलीलाई धन्यवाद दिँदै भन्नुभयो, ‘निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले गएका तीन वर्षमा गरेका असल कामलाई धन्यवाद दिन चाहन्छु ।’

राजनीतिक दल एकअर्काका शत्रु नभई सहयात्रीको रूपमा रहेको भन्दै उहाँले विपक्षीसँग संवाद गरेरै अगाडी बढ्ने विश्वस्त पार्नुभयो ।

जसपाले अदालतले दोषी किटान गरेका व्यक्तिलाई प्रधानमन्त्रीले चाहँदै छोड्न नसक्ने भन्दै रेशम चौधरीको मुद्दाप्रति आफू संवेदनशील रहेको उल्लेख गर्नुभयो ।

सरकारको एक मात्र प्राथमिकता कोरोनाविरुद्धको खोप रहेको भन्दै उहाँले भन्नुभयो, ‘अहिलेको प्राथमिकता भनेको खोप, खोप र खोप हो ।’