
काठमाडौं, मंसिर ११ । विभिन्न बैंकबाट खातावालको किर्ते सही गरी रकम निकाल्ने गिरोहलाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको छ ।
उनीहरुले काठमाडौं निवासी गोपालमान राजवहाकको बैंक खाताबाट १९ लाख ९९ हजार रुपैंया निकालेका थिए । राजवहाककै उजूरीका आधारमा उनीहरु पक्राउ परेका हुन ।
पक्राउ पर्नेमा सुभाष श्रेष्ठ, कुमार तामाङ, मनिष घिमिरे, अन्जन बराल, सुमन पौडेल र गोबिन्द घिमिरे रहेका छन् ।
यी मध्ये अन्जन बरालले ललितपुरको ग्वार्कोमा रहेको जनता बैंकबाट गोपालमान राजवहाकको नाममा नयाँ चेक निकाली बानेश्वर र न्युरोड शाखबाट उक्त रकम झिकेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एस.एस.पी उत्तम सुवेदीले जानकारी दिए ।
उनीहरुले बिभिन्न ब्यक्तिको नाममा चेक हराएको भन्दै नक्कली सही गरी नयाँ चेक लिने र रकम निकाल्ने गरेको खुलासा भएको छ ।
पक्राउ परेकाहरुले विभिन्न व्यक्तिको नागरिकताको फोटो कपी र फोटो प्रयोग गरी नयाँ खाता खोली अवैध सम्पत्ती समेत राखेको हनु सक्ने प्रहरीको अनुमान छ ।
पक्राउ परेकाहरुको साथबाट विभिन्न बैंकको चेकबुक, खाता खोल्ने नयाँ फर्महरु, एन. आई .सी. एशियाको एटीएम कार्ड, विभिन्न व्यक्तिको नामको नागरिकताको फोटोकपी, सयौं सिग्नेचरको नक्कल सहितको कागजात पनि बरामद गरेको छ ।
उनीहरुलाई बैकिङ कसुर अन्तर्गत सजायँ हुने प्रहरीको भनाई छ । पक्राउ परेकाहरुलाई ७ दिनको म्याद थपी, थप अनुसन्धान भइरहेको छ ।
बैंकका कर्मचारीको मिलेमतो विना यस प्रकारको घटना हुन नसक्ने भन्दै प्रहरीले विभिन्न कर्मचारीहरुमाथि पनि अनुसन्धान थालेको छ ।
प्रतिक्रिया दिनुहोस्