
काठमाडौं, साउन ५ । नेकपा एमालेका नेता रघुजी पन्तले आफूहरु जनताले चाहेजस्तो हुन नसकेको भन्दै माफी माग्नुभएको छ । पार्टीका नेता माधव नेपाल र सर्वोच्च अदालतका प्रधानन्यायाधीशविरुद्ध कार्यकर्ता खटाएर पुत्ला दहन र सार्वजनिक रुपमा नाराबाजी गर्न लगाएको भन्दै उहाँले पार्टी अध्यक्ष केपी ओलीसँग जवाफ पनि माग्नुभएको छ ।
अध्यक्ष ओलीले दोहोरो चरित्र देखाएको भन्दै पन्तले भन्नुभयो, ‘चौबीस घण्टे स्पष्टिकरण सोधेर, देशका विभिन्न भागमा माधव नेपालविरूद्ध नारा लाएर, उनको पुतला जलाएर पार्टी जुटाउन खोजेको कि फुटाउन ? पार्टी अध्यक्ष आफैले जथाभावी भन्ने, गाली गर्ने अनि वार्ता गर्न मान्छे पनि खटाउने दोहोरो चरित्र र ब्यवहार किन र केका लागि ? मनदेखि नै एकता चाहेको हो भने त्यही अनुसार ब्यवहार गरौं । सबै संयमित र जिम्मेवार बनौं ।’
‘सर्वोच्चको फैसला र प्रधानन्यायाधीशविरूद्ध नारा जुलुश एवं पुत्ला दहन गरिएकामा आपत्ति जनाउँदै पन्तले अध्यक्ष ओली र नेता सुवास नेम्बाङलाई समेत प्रश्न गर्नुभएको छ, ‘सर्वोच्च अदालतको फैसलाविरूद्ध नारा जुलुश गर्ने र प्रधान न्यायाधीश विरूद्ध नारा लगाउँदै उनको पुत्ला जलाउने काम गर्न दुईपटक प्रधानमन्त्री भएका केपी ओली, न्याय, कानून र संसदीय ब्यवस्था मन्त्री भैसकेका र कानून ब्यवसायी समेत रहिसकेका सुवास नेम्बाङ र अग्नि खरेलले कसरी आफ्ना कार्यकर्तालाई अनुमति दिनसकेका ? आफ्ना युवा कार्यकर्तालाई राम्रो संस्कार र संस्कृति सिकाउनु पो राम्रो होला ।’
सडकमा देखाइएका हर्कतले नेतृत्वप्रति कस्तो साख रहला भन्दै नेता पन्त भन्नुहुन्छ, ‘सडकमा जेजस्ता रमिता देखाएर पुतला जलाउने र नारा लगाउने काम भैरहेको छ त्यसले नेकपा (एमाले) को मान, नेतृत्वको योग्यता, क्षमता र परिपक्वतामाथि नै गम्भीर प्रश्नचिन्ह खडा गरेको छ । लामो समयसम्म हामीले यी गतिविधिका कारण जनसमक्ष रातो मुख लगाउनु पर्नेछ । यी गतिविधिप्रति म अहिले नै आत्मआलोचित हुन चाहन्छु । हामी तपाईंहरूले अपेक्षा गरेजस्तो हुन सकेनौं, माफ गर्नुहोला जनता जनार्दन !’
प्रतिक्रिया दिनुहोस्