
काठमाडौं, मंसिर ११ । नेकपा अध्यक्ष पुष्पकमल दाहालले कास्की २ का नेपाली कांग्रेसका उम्मेदवार खेमराज शर्मालाई ‘देवघाट पठाउनुपर्ने उमेरकालाई’ कांग्रेसले उम्मेदवार बनाएको टिप्पणी गरेपछि सर्वत्र आलोचना भएको छ ।
दाहालले त्यति मात्र भनेनन् एकै घानमा आफ्नै पार्टीका एक नम्बर अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘६५ वर्षे जवान’ को संज्ञा पनि दिन भ्याए ।
बुधबार पोखरामा आयोजित नेकपा सभामा पूर्वप्रधानमन्त्रीसमेत भैसकेका अध्यक्ष दाहालले दिएको यस्तो अभिव्यक्तिप्रति सामाजिक सञ्जालमा भने तीखो आलोचना शुरु भएको छ । नेृकपाकै कतिपय कार्यकर्ता भने दाहालको बचाउमा उत्रिएका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमार्फत् नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले दाहालको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।
अध्यक्ष दाहालले कास्की क्षेत्र नम्बर २ बाट उपनिर्वाचनमा उम्मेदवारी दिएका खेमराज पौडेललाई बृद्धावस्थामा सांसद बनाउन खोजिएको भन्दै अलोचना गरेका थिए ।
अध्यक्ष दाहालको अभिव्यक्तिको कडा आलोचना गर्दै शर्माले प्रचण्डको राजनीतिक उचाई र उमेरले यो अभिव्यक्ति दिनु अशोभनीय भएको बताएका हुन् ।
शर्माले ट्वीटमा भनेका छन्, ‘७० कटेका ट्रम्प अमेरिकाको राष्ट्रपति बन्न मिल्ने, ७० कै हाराहारीका केपी कमरेड प्रधानमन्त्री बन्न मिल्ने, अनि त्यस्तै उमेरमा खेमराज गुरुले सांसद बन्नचाहिँ किन नमिल्ने ?’
देवघाट पठाउने उमेरमा सांसद ? प्रचण्डले आज पोखरामा भन्नू´भो l
कमरेड यहाँको उचाई र उमेरले यस्तो बोल्नु शोभनीय हो ? ७० कटेका ट्रम्प अमेरिकाको रास्ट्रपति बन्न मिल्ने,७० कै हाराहारीका केपि कमरेड प्रधानमन्त्री बन्न मिल्ने,अनि त्यस्तै उमेरमा खेमराज गुरुले सांसद बन्न चैं किन नमिल्ने ?
— Bishwa Prakash शर्मा (@bishwaprakash77) November 27, 2019
तर, दाहालले कांग्रेस उम्मेदवार खेमराज शर्माप्रति टिप्पणी गर्नेक्रममा आफ्नै पार्टीका एक नम्बर अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीलाई पनि ‘६५ वर्षे जवान’ को संज्ञा दिँदै व्यंग्य कस्न भ्याए ।
पोखरामा दाहालले, ‘हाम्रो प्रधानमन्त्रीलाई कहिलेकाहीँ बिदा लिनुपर्छ भन्नेहरूले विचरा ७७ बर्षको बूढालाई, जो अब देवघाटतिर जानुपर्ने मान्छेलाई, त्यहाँ गएर ध्यान र ज्ञान सिक्नपर्ने मान्छेलाई आफू अघि सार्ने अनि ६५ वर्षे जवानलाई रेष्ट गर्ने भन्न मिल्छ त?’ भन्दै प्रश्न गरी, ‘यो कहीँ कतैबाट मिल्ने कुरा होइन ।’ भनेका थिए ।
दाहालको यस अभिव्यक्तिको आलोचना भएपछि नेकपाकै केही कार्यकर्ताले भने सामाजिक सञ्जालमा उनको बचाउमा उत्रिएका छन् ।
प्रतिक्रिया दिनुहोस्