२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


भारतमा कोरोना कारण अतिरिक्त मृत्यु हुनेको संख्या ४० लाखबढी


0
Shares

एजेन्सी । भारतमा कोरोना (कोभिड–१९) महामारीका कारण अतिरिक्त मृत्युको संख्या ४० लाखभन्दा बढी रहेको पाइएको छ ।

अमेरिकास्थित सेन्टर फर ग्लोबल डेभलपमेन्टले विभिन्न तीनवटा स्रोतबाट महामारीका बेला जुन २१ सम्मको तथ्यांक संकलन गरेर भारतमा सबै कारणले भएका अतिरिक्त मृत्युको अनुमानित संख्या गणना गरेको थिए ।

उक्त अध्ययनमा भारतमा ३४ देखि ४७ लाख अतिरिक्त मृत्यु भएको देखाएको हो । अध्ययनका क्रममा भारतको आधा जनसंख्या भएका सातवटा राज्यमा पञ्जीकृत मृत्युको तथ्यांक केलाइएको थियो । जसमा विगत चार महिनामा ती परिवारमा कसैको मृत्यु भएको भए त्यसको अभिलेख समावेश गरिएको थियो ।

यो संख्या भारत सरकारले सार्वजनिक गरेको कोभिडका कारण मृत्यु भएका मानिसको कुल संख्याभन्दा १० गुणा बढी रहेको जनाइएको छ । साथै यो संख्या संक्रामक रोग विशेषज्ञहरूले गरेको अनुमानभन्दा पनि बढी देखिएको छ ।

अनुसन्धानकर्ताहरुले देशभरि गरिएका दुईवटा एन्टिबडी परीक्षण अर्थात् सीरो सर्वेक्षणको तथ्याङ्कमा विशेष उमेर समूहमा सङ्क्रमणबाट हुने मृत्युदरको अन्तर्राष्ट्रिय लगत प्रयोग गरेर तुलना गरेका थिए । सरकारी तथ्याङक अनुसार भारतमा कोभिड महामारीका कारण ज्यान गुमाउने संख्या अहिलेसम्म चार लाख १४ हजार भन्दा बढी रहेको छ ।

भारतमा प्रत्येक वर्ष मृत्युदरसम्बन्धी सर्वेक्षण हुने गरेको भएपनि यो महामारीका बेला अतिरिक्त मृत्युको लगत राखेको छैन ।