
काठमाडौं, साउन ६ । अर्थमन्त्री जनार्दन शर्माले उपभोक्तावादी अर्थतन्त्रलाई उत्पादनमुखी पद्धतीमा बदल्नुपर्ने बताउनुभएको छ ।
बुधवार नेपाल उद्योग परिसंघको १८ औँ वार्षिक साधारण सभामा अर्थमन्त्री शर्माले यसका लागि नीतिगत र योजनागत रुपमा नयाँ संकल्पको खाँचो रहेको औंल्याउनुभयो । उहाँले स्थानीय तथा प्रदेशस्तरमा साना उद्योगहरुको सञ्जाल निर्माण गर्दै ठूला उद्योगहरु स्थापना गर्न आवश्यक रहेको पनि बताउनुभयो । औद्योगिक क्षेत्रमा विशेष लगानी नगरीकन देशलाई आत्मनिर्भर बनाउन नसकिने उहाँको भनाइ छ ।
अर्थमन्त्री शर्माले सरकारले कोभिड प्रभावित व्यवसायीलाई राहत तथा पुनस्र्थापनाको प्याकेजसहितको कार्यक्रम छिट्टै ल्याउने पनि बताउनुभयो । कार्यक्रममा उद्योगपति तथा सांसद विनोद चौधरीले देशलाई शिक्षा, स्वास्थ्य तथा आईटीको क्षेत्रमा विश्वको गन्तव्यस्थल बनाउनका निम्ति प्रधानमन्त्री र अर्थमन्त्रीसमक्ष आग्रह गर्नुभयो । उहाँले नेपालमा उद्योगधन्दा सञ्चालन गर्नका लागि विचौलियाको आवश्यकता छैन भन्ने सन्देश विदेशी लगानीकर्तामाझ पुर्याउनुपर्ने पनि बताउनुभयो ।
नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णु कुमार अग्रवालले नेपाली श्रमशक्तिलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्न ठोस नीति निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्