
एजेन्सी । भारतमा ६ वर्षमाथिका दुई तिहाई अर्थात् ६७ प्रतिशत मानिस कोरोना भाइरसबाट संक्रमित भएको खुलासा भएको छ ।
इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च आइसीएमआरले जुन र जुलाईमा भारतका विभिन्न २१ राज्यका ३६ हजार २ सय २७ जनामा गरेको अध्ययनबाट हरेक तीनमा दुईजनामा कोरोना भाइरसको एन्टीबडी भेटिएको हो ।
यो अध्ययन अनुसार अझै ४० करोड मानिस संक्रमणको जोखिममा रहेका छन् । सावधानीका लागि अपनाइएका प्रतिबन्धित उपायहरु खुकुलो बनाउँदै गर्दा संक्रमण थप फैलिन सक्ने भन्दै विज्ञहरुले चेतावनी दिँदै आएका छन् । भारतमा हालसम्म तीन करोड १२ लाख बढीमा संक्रमण पुष्टि भएको छ ।
यस्तै चार लाख १८ हजार ५ सय बढी मानिसको मृत्यु भइसकेको छ । औपचारिक तथ्यांक यो भए पनि आइसीएमआरको अध्ययन अनुसार वास्तविक संक्रमितको संख्या निकै धेरै रहेको हुन सक्ने देखिएको छ । भारतमा तेस्रो लहर खतरनाक हुने चेतावनी पनि दिइएको छ ।
प्रतिक्रिया दिनुहोस्