
एजेन्सी । भारतमा म्युकरमाइकोसिस (कालो ढुसी) को संक्रमणका कारण ४ हजार ३ सयभन्दा धेरैको मृत्यु भएको छ ।
पछिल्लो समय भारतमा कालो ढुसीका संक्रमितको संख्यामा उल्लेख्य वृद्धि भएसँगै यसबाट मृत्यु हुनेको संख्या पनि बढेको हो ।
भारतका स्वास्थ्यमन्त्री मन्सुख मन्दाभियाका अनुसार अहिलेसम्म भारतमा कालो ढुसीका ४५ हजार ३ सय ७४ संक्रमित फेला परेका छन् ।
उनीहरुमध्ये करिब आधा मानिसहरु यसको उपचार गराइरहेका छन् । कालो ढुसीको संक्रमण नाक, आँखा र कहिलेकाहीँ मस्तिष्कमा पनि पर्ने गर्छ । कालोढुसीको संक्रमण देखिनेमा अधिकांश कोरोनाबाट निको भएका मानिस रहेका छन् ।
कोरोनाको उपचारको क्रममा स्टेरोइडको प्रयोग गर्ने र मधुमेहको समस्या भएका मानिसहरु सबैभन्दा धेरै जोखिममा रहेको डाक्टरहरुले बताएका छन् । डाक्टरहरुका अनुसार कोरोना निको भएको १२ देखि १८ दिनमा कालो ढुसीको संक्रमण देखिने गरेको पाइएको छ ।
भारतको महाराष्ट्र, गुजरात, तामिलनाडु र राजस्थानमा कालो ढुसीका सबैभन्दा धेरै संक्रमित भेटिएका छन् । महाराष्ट्र र गुजरातमा मात्र संक्रमितको संख्या १ हजार ७ सय ८५ छ ।
प्रतिक्रिया दिनुहोस्