
काठमाडौं, साउन ८ । नेपाली कांग्रेसको पार्टी केन्द्रीय कार्यालय सानेपामा १३ दिनदेखि जारी अनशन तोडाउन डा. रामशरण महत र प्रकाशशरण महतले जिम्मेवारी पाउनुभएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा बसेको पदाधिकारी बैठकले पार्टी कार्यालयमा जारी अनसन तोडाने जिम्मेवारी महत दाजुभाईलाई दिएको हो ।
पार्टी कार्यालय सानेपामा क्रियाशील सदस्यता छानबिन निष्पक्ष ढंगले गर्न दबाब दिन १३ दिनदेखि विभिन्न जिल्लाका नेता कार्यकर्ता अनशनमा बस्दै आएका छन् ।
बैठकमा क्रियाशील सदस्यता छानवीन समितिका संयोजक रमेश लेखकले साउन १० गते आईतबार आफ्नो समितिको प्रतिवेदन पार्टीलाई बुझाउने तयारी गरिएको जानकारी दिनुभयो ।
१४ औं महाधिवेशनका लागि साउन १२ गतेदेखि शुरु गर्ने भनिएको पार्टीको तल्लो तहको अधिवेशनको मिति सार्नेबारे भने शनिबार बस्ने पदाधिकारी बैठकले निर्णय गर्ने पनि बताइएको छ ।
बैठकमा केन्द्रीय निर्वाचन समितिका संयोजक महादेव यादवले क्रियाशील सदस्यता छानबिन समितिको प्रतिवेदन प्राप्त भएपछि मात्रै तल्लो तहको अधिवेशन सुरु गर्न सकिने भन्दै त्यसको मिति सार्न पदाधिकारी बैठकमा प्रस्ताव राख्नुभएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।
सभापति देउवाले केन्द्रीय महाधिवेशन भदौ १६ देखि १९ गते नै हुने गरी बाँकी कार्यतालिका तयार गर्न निर्देशन पनि दिनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्