१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


कांग्रेसमा चार लाख नयाँ क्रियाशील सदस्य थपिँदा सबैभन्दा बढी प्रदेश ३ र थोरै कर्णालीमा


0
Shares

काठमाडौं, साउन १२ । नेपाली कांग्रेसले साढे चार लाख नयाँ क्रियाशील सदस्य थप्दै कूल संख्या साढे आठ लाख पुर्‍याएको छ । यसमा जनसम्पर्क समितिमा रहने सदस्य जोडिएका छैनन् ।

१४ औं महाधिवेशनको प्रयोजनका लागि ८ लाख ५२ हजार ७११ सदस्यको सूची क्रियाशील सदस्यता छानबीन समितिले मंगलबार सभापति शेरबहादुर देउवालाई बुझाएको हो ।

४ लाख ४३ हजार ६७८ जना नयाँ सदस्य थपिँदा ४ लाख ९ हजारले नवीकरण गरेका छन् । सबैभन्दा धेरै वागमती प्रदेशमा १ लाख ८६ हजार व्यक्ति क्रियाशील सदस्य बनेका छन् । सबैभन्दा थोरै कर्णाली प्रदेशमा ५४ हजार ५ सय ६६ रहेको छ ।

यसैगरी, प्रदेश १ मा एक लाख ७४ हजार सात सय ८२, प्रदेश २ मा एक लाख १२ हजार ९ सय ४६, गण्डकी प्रदेशमा एक लाख १८ हजार ६ सय ३३ जना, लुम्बिनी प्रदेशमा एक लाख ३० हजार ८ सय ८५ र सुदूरपश्चिम प्रदेशमा ७४ हजार ७ सय ५६ जना रहेका छन् ।

रमेश लेखक नेतृत्वको क्रियाशील सदस्य छानविन समितिले तयार पारेको प्रतिवेदनका अनुसार सबैभन्दा थोरै कर्णालीमा ५४ हजार ५६६ जना रहेका छन् । समितिले धनुषा क्षेत्र नम्बर ४, सर्लाही २ र बारा तथा सप्तरी जिल्लाको क्रियाशील सदस्यता विवाद भने टुंगो लगाउन नसकेको जनाएको छ ।

१३ औं महाधिवेशनको चार लाख ८० हजार सदस्यको तुलनामा यो दोब्बर बृद्धि हो । क्रियाशील बन्ने पुरुष सदस्यको तुलनामा महिला निकै कम देखिन्छन् । ६ लाख ५३ हजार ८ सय ३८ जना पुरूष क्रियाशील सदस्य रहँदा महिला जम्मा एक लाख ९९ हजार ९७ जना छन् ।

उमेर समूहतर्फ सबैभन्दा बढी ४१ देखि ६० वर्षका बढी अर्थात् तीन लाख २८ हजार, त्यसपछि २६ देखि ४० समूहका युवा झण्डै साढे दुई लाख रहेको छ । १६ देखि २५ वर्ष उमेर समूहका ४० हजार रहँदा ६१ देखि ७५ वर्ष उमेरका ८३ हजार १० जना छन् भने ७५ वर्षभन्दा माथिका ११ हजार ७ सय ८२ जना छन् ।