
काठमाडौ., साउन १३ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अमेरिकी सहयोग सम्झौंता (एमसीसी) जस्ताको तस्तै पारित नगर्न सरकारलाई सचेत गराउनुभएको छ ।
एमसीसीले राखेका सम्झौंता जस्ताको तस्तै पारित गरिए त्यो राष्ट्रघाती हुने पनि उहाँले जिकीर गर्नुभएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वमा बुधबार बसेको पाँच दलीय गठबन्धनका नेताहरुको बैठकमा एमसीसी पारित गर्नेबारेमा छलफल भएको खबर सार्वजनिक भएलगत्तै नेता रावलले यस्तो खबरदारी गर्नुभएको हो ।
शुरुदेखि नै एमसीसी परियोजनाको विपक्षमा मत जाहेर गरिरहनुभएका रावलले बुधबार एक ट्वीट गर्दै नेपालको संविधान र कानुन विपरितका प्रबन्ध हटाउन माग पनि गर्नुभएको छ ।
रावलले लेख्नुभएको छ, ‘नेपालको संविधान, कानून, राष्ट्रिय हित र स्वाधीनता विपरीतका प्रावधान नहटाई एमसीसीसँगको सम्झौता अनुमोदन गर्नु राष्ट्रघाती काम हुनेछ ।’
रावलले यस बदमले देश उपनिवेश बन्नेसमेत दलील गर्दै लेख्नुभएको छ, ‘देश उपनिवेशकरणतर्फ धकेलिनेछ । यस्तो काम सरकार र पार्टीले नगरून् । यसबारे प्रतिनिधि सभा पुनःस्थापनाका लागि भएको गठबन्धनमा पनि कुनै कुरा नभएको हेक्का रहोस् ।’
प्रतिक्रिया दिनुहोस्