८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


२८ वर्षपछि भक्तपुर १(क) मा चार तारा फहरिँदा कांग्रेसले बढायो दुई वर्षमा ३५ सय मत


0
Shares

भक्तपुर, मंसिर । भक्तपुरमा उपनिर्वाचन गरिएको क्षेत्रमा नेपाली कांग्रेसले २८ वर्षपछि चार तारा झण्डा फहराउन सफल भएको छ । प्रदेशसभा सदस्यमार्फत उक्त क्षेत्रमा फर्कन कांग्रेस सफल भएको हो ।

२०४८ सालयता कांग्रेसले गुमाएको क्षेत्र यस पटक कृष्णलाल भँडेलले फिर्ता ल्याए । कांग्रेसले उक्त क्षेत्रमा आफ्नो विजयको झण्डा मात्र गाढेको छैन, दुई वर्षमा आफ्नो मत पनि बढाएको छ ।

पार्टी र सरकारको लोकप्रियता मापन मानिएको यस उपनिर्वाचनमा कांग्रेसले भक्तपुरमा आफ्नो लोकप्रियता बढेको सिद्ध गर्दा सत्तारुढ नेकपाले भने क्षेत्र गुमाउनु परेको छ ।

भक्तपुर(१ (क) को मत परिणाम अनुसार नेपाली कांग्रेसका कृष्णलाल भँडेल १३ हजार ४४९ मत ल्याएर विजयी भएका हुन् । जबकी २०७४ को प्रदेशसभा निर्वाचनमा भने कांग्रेसले ९ हजार ९७७ मत मात्र पाएको थियो ।

पराजित भएका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का डीपी ढकालले ११ हजार २०६ मत पाएका छन् । अघिल्लो निर्वाचनमा एमाले उम्मेदवार हरिशरण लामिछाने भने १२ हजार ७८९ मत ल्याउँदै निर्वाचित भएका थिए । लामिछानेको निधनपछि त्यहाँ उपनिर्वाचन गरिएको थियो । २०७४ सालमा नेकपा (माओवादी केन्द्र)ले ७८४ मत ल्याएको थियो ।

तेस्रो स्थानमा रहेको नेपाल मजुदर किसान पार्टी (नेमकिपा)को पनि २०७४ सालको भोट जोगाउन सकेन । दुई वर्षअघिको चुनावमा सात हजार १९ मत ल्याएको नेमकिपाले यसपटक जम्मा ५ हजार ८६४ मत मै चित्त बुझाउनु परेको छ ।

यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीले ८९ मत बढाए पनि साझा पार्टी लगायतका अरु सबै साना दलले आफ्नो मत गुमाएका छन् ।