
एजेन्सी । चीनमा पछिल्लो समय देखिएको कोरोना संक्रमण वुहान सहरमा फैलिएको संक्रमण यताकै ठूलो भएको चिनियाँ सञ्चार माध्यमहरुले बताएका छन् ।
जुलाई २० मा चीनको नान्चिङ सहरको विमानस्थलमा एकजनामा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसयता अहिलेसम्म दुई सय जनामा कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ ।
नान्चिङबाट आउने सबै उडानहरु अगष्ट ११ सम्मको लागि रद्द गरिएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । नान्चिङ सहरमा संक्रमण रोक्न नसकेको भन्दै सरकारको आलोचना भएसँगै सहरमा परीक्षण व्यापक बनाइएको छ ।
चिनियाँ समाचार संस्थाका अनुसार उक्त सहरका ९३ लाख मानिसको कोरोना परीक्षण गरिने भएको छ । यो सहरमा भ्रमणका लागि आएका मानिसको पनि कोरोना परीक्षण गरिने जनाइएको छ । अधिकारीहरुका अनुसार अहिले फैलिएको संक्रमणको प्रमुख कारण डेल्टा भेरियन्ट हो ।
विमानस्थलमा मानिसको अत्यधिक भिडभाडका कारण कोरोना संक्रमण बढेको अधिकारीहरुले बताएका छन् । चीनले आफ्नो मुलुकमा विभिन्न योजना प्रयोग गर्दै संक्रमणलाई नियन्त्रणमा राख्न सफल भएको छ ।
प्रतिक्रिया दिनुहोस्