
काठमाडौं, साउन १५ । राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले राष्ट्रिय गौरवका आयोजनाको बजेटको श्रोत सुनिश्चित गर्न सरकारलाई निर्देशन दिएको छ ।
शुक्रवार सिंहदरवारमा बसेको बैठकले राष्ट्रिय गौरवका आयोजनाको बजेटको श्रोत सुनिश्चितता र कार्यविधि सञ्चालनको स्पष्ट मापदण्ड ल्याउन निर्देशन दिएको हो । समितिले मेलम्ची खानेपानी आयोजनाका सम्बन्धमा बाढी तथा पहिरोले पुर्याएको क्षतिका बारेमा छलफल गरेको थियो ।
छलफलपछि समितिले आयोजनामा बाढी पहिरोले पुर्याएको क्षतिको मूल्यांकन गरी पुनर्निर्माणलाई अविलम्ब शुरु गर्न निर्देशन दिएको छ । मेलम्ची खानेपानी आयोजनाको बाँकी काम सम्पन्न गर्न समेत बजेटको सुनिश्चितता गर्न नेपाल सरकारलाई निर्देशन दिएको छ । यस्तै समितिले आयोजनासँग प्रत्यक्ष सम्बन्ध राख्ने निकायका बीच प्रभावकारी सहकार्य र समन्वयको लागि पनि निर्देशन दिएको छ ।
समितिले आयोजना कार्यान्वयन निर्देशनालय र काठमाडौं उपत्यका खानेपानी आयोजनाबीचमा भएको संरचनात्मक समस्यालाई व्यवस्थित गर्न खानेपानी मन्त्रालयलाई निर्देशन दिएको छ । समितिले शहरी विकास मन्त्रालय, मेलम्ची खानेपानी आयोजना, काठमाडौं आयोजना खानेपानी लिमिटेड र काठमाडौं महानगरपालिकाको सरसफाइ तथा विभाग हेर्ने अधिकारीहरुसँग छलफल गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्