१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


क्षतिग्रस्त पुल तत्काल निर्माण गर्न विकास समितिको निर्देशन


0
Shares

काठमाडौं, साउन १७ । संघीय संसदको विकास तथा प्रविधि समितिले बाढीका कारण क्षतिग्रस्त पुलको निर्माण तत्काल अघि बढाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ ।

आइतबार बसेको समितिको बैठकले यसै वर्षको बाढीले क्षतिग्रस्त भएका सिराहा र धनुषा जोड्ने हुलाकी सडक अन्तर्गत कमला नदीको पुल र गाइघाट–दिक्तेल सडक खण्ड अन्तर्गत त्रियुगा नदीको पुल क्षतिग्रस्त हुनुको कारण पत्ता लगाएर यथाशीघ्र निर्माण गर्न मन्त्रालयलाई निर्देशन दिएको हो ।

समितिले निर्माणमा भएको प्राविधिक त्रुटी लगायत पुल भासिनुको कारणको पहिचान गर्न स्थलगत अध्ययन गर्ने भएको छ । समितिले वर्षातको समयमा पहिरोका कारण नारायणगढ मुग्लिन सडक खण्ड पटक पटक अवरुद्ध हुने गरेको भन्दै दीर्घकालीन समाधानका लागि विशेष अध्ययन गरी २४ सै घण्टा इमर्जेन्सी रेस्पोन्सको व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले हालसम्म १ सय ५३ स्थानमा सडक अवरुद्ध भएको जानकारी दिँदै यसमध्ये हाल ११ वटा अवरुद्ध अवस्थामै रहेको, ९३ वटा एकतर्फी चालु रहेको र ४९ वटा दुवैतर्फ सुचारु अवस्थामा रहेको बताउनुभयो ।