
प्रज्ञा तिमिल्सीना
काठमाडौं, साउन १७ । साउन महिना सुरु भएसँगै बढेको कोरोना संक्रमितको संख्याले उपत्यकाका सरकारी अस्पताल भरिएका छन् । काठमाडौंको टेकु अस्पतालमा त शैया खाली नभएपछि अस्पतालको प्राङ्गणबाटै सेवा दिन थालिएको छ । यही अवस्था रहे अबको केही सातामा अस्पताले विरामी थेग्न नसक्ने अवस्था आउने चिकित्सकहरुले चेतावनी दिएका छन् ।
काठमाडौं उपत्यकाका ठुला सरकारी अस्पताल पुनः संक्रमितले भरिन थालेका छन् । असारमा केही कम भएको संख्या अहिले दिनहँु औषतमा ३७ सय देखिन थालेपछि सबैजसो सरकारी अस्पताल संक्रमितले भरिएका छन् । टेकु , वीर र टिचिङ् अस्पतालमा उपचार गर्न आउने संक्रमित ह्वात्तै बढेका छन् । संक्रमितको संख्या बढेर आकस्मिकदेखि क्रिटिकल केयरका सबै शैयाहरु भरिएपछि टेकुको अस्पतालले प्राङ्गणबाटै सेवा दिन थालेको छ । जस्ताले बारेर थप स्थानबाट सेवा दिने पनि तयारी थालेको छ ।
अस्पतालका निर्देशक डाक्टर अनुप वास्तोला विरामीको चाप बढेकाले अब बाहिरै राखेर उपचार गर्नु पर्ने अवस्था आएको बताउनुहुन्छ । गत वैसाखमा थामिनसक्नु भएको संक्रमितको संख्याको दृश्य टेकु अस्पतालमा पुनः देखिएको छ । यता त्रिवि शिक्षण अस्पतालमा पनि संक्रमितको चाप बढेसँगै नन कोभिडका लागि छुट्याइएको शैया प्रयोग गर्ने तयारी भइरहेको छ । कोभिड युनिट प्रमुख डाक्टर निरज बमले थप ३० शैया थप्ने तयारी भइरहेको जानकारी दिनुभयो । अबको दुई सातापछि यो संख्या उल्लेख रुपमा बढ्ने भन्दै डा.बमले कडाइ गर्नुको विकल्प नभएको बताउनुभयो ।
यस्तै वीर अस्पतालमा पनि संक्रमितको संख्या बढेको छ । कोरोना संक्रमितलाई मात्र उपचार गर्ने भनेर वीरमा सञ्चालनमा ल्याइएको कोभिड युनिफाइड अस्पतालले जनशक्ति थपेर कहिलेदेखि उपचार गर्ने भन्ने टुङ्गो लगाउन सकेको छैन । संक्रमणको तेस्रो लहर देखिए प्रयोग गर्नेभन्दै व्यवस्थापन मिलाइए पनि कहिले सञ्चालन हुने हो भन्ने अन्यौल छ । दोस्रो लहरको उच्च विन्दूमा जस्तो भद्रगोलको अवस्था आउन नदिन सरकार पनि पूर्ण तयारीमा छिटै जुटन आवश्यक छ भने सबैजना सचेतहुँदै सावधानीको उपाय अपनाउन ढिलाई गर्नु हुँदैन् ।
प्रतिक्रिया दिनुहोस्