
जनकपुर, मंसिर १६ । सात दिने रामजानकी विवाह पञ्चमी महोत्सव सम्पन्न भएको छ ।
भारतको अयोध्याबाट जनकपुर आएका जन्तीलाई सोमबार दिउँसो विशेष कार्यक्रमबीच बिदाइ गरेपछि विवाह पञ्चमी महोत्सव सम्पन्न भएको छ ।
जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवले जानकी मन्दिरको प्राङ्गणमा लत्ताकपडा, प्रसाद, दक्षिणा दिएर जन्तीको विदाइ गरे ।
जन्तीमा सहभागी साधु सन्तलाई उनीहरुको मर्यादाक्रमअनुसार दक्षिणा दिइएको थियो । यो परम्परालाई रामकलेवा भनिन्छ ।
रामकलेवामा राम, लक्ष्मण, भरत, शत्रुधन, सीता, उर्मिला, माण्डवी र श्रुतीकृतिलाई एकै ठाउँमा बसाएर खाना खुवाइएपछि महोत्सव सम्पन्न भएको हो । खाना खुवाउनका लागि जानकी मन्दिरको प्राङ्गणमा विशेष मण्डप बनाइएको थियो । खाना समयमा नाचगानको कार्यक्रम समेत राखिएको थियो ।
सो अवसरमा स्थानीय संघ संस्थाले हजारौं श्रद्धालुलाई निःशुल्क भोजनको व्यवस्था गरेका थिए ।
यो बर्ष जन्तीका रुपमा भारतको अयोध्यासहित विभिन्न स्थानबाट हजारौं तीर्थालु सहभागी भएका थिए ।
प्रतिक्रिया दिनुहोस्