
गृष्मा राजभण्डारी र राममान डंगोल (इमेज)
काठमाडौं, मंसिर १६ । नेपालमा आगलागी कारण बर्षेनी थुप्रै व्यक्तिको ज्यान जाने गरेको छ । झण्डै ५ अर्ब रुपैयाँ बराबरको क्षति राज्यले बेहोर्दै आएको छ ।
यसको एउटा विकल्प हो सावधानी । यसैका लागि सरोकारवालाहरुले सचेतनामूलक कार्यक्रममा जोड दिन थालेका छन् ।
अपाङ्ता भएका ब्यक्तिहरुलाई आगलागी भएको बेला अपनाउनु पर्ने विधिबारे सरोकार फाउन्डेसन र जुद्ध बारुण यन्त्रको समन्वयमा काठमाडौंको नक्सालमा रहेको केन्द्रीय बहिरा उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई आगलागी नियन्त्रणका लागि प्रयोग गरिने विधिकारे जानकारी गराइएको छ ।
सामान्य व्यक्तिले जस्तै बोल्न र सुन्न नसक्ने विद्यार्थीहरुले घरमा वा कतै आगलागी भएको खण्डमा कसरी दमकल बोलाउने भन्ने बारे अहिलेसम्म पनि कुनै प्रशिक्षण र जानकारी पाएका छैनन् । तिनै विद्यार्थीहरुलाई सचेत गराउने उद्देश्यले आयोजना गरिएको सचेतनामुलक कार्यक्रमा विद्यार्थीहरुले रुचिपूर्वक भाग लिएका थिए ।
धेरै विद्यार्थीहरुले आफूलाई लागेको जिज्ञासा पोखेका थिए । सामान्य व्यक्तिले पनि आगलागी भएको अवस्थमा अपनाउनु पर्ने विधिहरु अपनाएको पाइँदैन ।
अङ्गता भएका व्यक्तिहरु झनै जोखिममा पर्ने संभावना भएकाले उनीहरु सचेत होउन भनेर यस्तो कार्यक्रम संचालन गरिएको सरोकार फाउन्डेशनका अध्यक्ष पल्लव पन्तले बताए ।
त्यसक्रममा घरमा खाना पकाउने एलपी ग्याँस सिलिन्डरमा आगलागी भएको खण्डमा कसरी नियन्त्रणमा लिन सकिन्छ भन्ने विधिबारे प्रर्दशन गरिएको थियो ।
जाडो महिनामा आगलागीका घटनाहरु निकै बढ्ने गरेको छ । दुर्घटनाबश आगलागी भए त्यसलाई नियन्त्रण गर्ने सानो उपाय मात्र थाहा पाउन सकिए जनधनको ठूलो क्षति हुनबाट जोगाउन सकिन्छ ।
प्रतिक्रिया दिनुहोस्